वीरगञ्ज । वीरगञ्जस्थित नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनपछि मतगणना प्रक्रिया विवादमा फसेको छ ।
मङ्गलवार अपराह्न सम्पन्न भएको निर्वाचनको मतगणना राति ८ बजेदेखि सुरु भएता पनि क्याम्पस प्रशासनमाथि धाँधलीको गम्भीर आरोप लागेपछि अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) र नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) ले क्याम्पस प्रशासनमाथि निर्वाचन प्रक्रियालाई प्रभावित पारेको आरोप लगाउँदै विरोध जनाएका छन् ।
मतगणनाको क्रममा क्याम्पस प्रमुख डा. कल्पना पौडेल र निर्वाचन अधिकृत अन्जु कुमारी महतोले एउटा विशेष सङ्गठनलाई जिताउन बदर मतहरूलाई समेत सदर गरेको भन्दै नेविसंघ र अखिल (क्रान्तिकारी) आक्रोशित बनेका छन् ।
विरोधमा उत्रिएका नेविसंघ निकट विद्यार्थीहरूले राति क्याम्पसको मूल गेट अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । क्याम्पस अगाडि टायर बालेर प्रदर्शनमा उत्रिएका उनीहरूले मतगणना प्रक्रिया पारदर्शी बनाउन पुनः मतगणनाको माग गरेका छन् भने क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजीनामा पनि मागेका छन् ।
अखिल (क्रान्तिकारी) का नेता मिरोज अहमदले मतगणनामा व्यापक अनियमितता भएको दाबी गरे । “हामीले मतपत्रहरू जाँच्दा बदर भएका मतहरूलाई जबरजस्ती सदर गरिएको पायौँ । यो क्याम्पस प्रशासनको बदनियतको परिणाम हो । निर्वाचन प्रक्रिया स्वच्छ र पारदर्शी हुनुपर्छ, तर यहाँ त ठाडो धाँधली भएको छ,” उनले भने ।
नेविसंघका जिल्ला अध्यक्ष रमेश यादवले क्याम्पस प्रशासनले विद्यार्थीहरूलाई डर र धम्की देखाएर विरोधको स्वर दबाउन खोजेको आरोप लगाए । “प्रशासनले व्यावहारिक परीक्षामा नम्बर काटिदिने धम्की दिएर विद्यार्थीको अधिकार कुण्ठित गरेको छ । गलत कामको विरोध गर्न पनि दिइएको छैन,” उनले थपे ।
क्याम्पसमा नेविसंघबाट सभापति पदकी उम्मेदवार दियान्सु श्रेष्ठले पनि मतगणनाको पादर्शितामाथि प्रश्न गरिन । उनले मतगणना स्थलमा रहेका आफ्ना प्रतिनिधिहरूको कुरा निर्वाचन अधिकृत र क्याम्पस प्रमुखले नसुनेको र बदर मतलाई सदर गरेको बताउँदै क्याम्पस प्रमुख एउटा विशेष संगठनलाई जिताउन लागेको आरोप लगाइन ।
यता, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भने मतगणनामा कुनै अनियमितता नभएको जिकिर गरेको छ । अनेरास्ववियुका नेता आशिफ अहमदले नेविसंघ र अखिल (क्रान्तिकारी) ले हार निश्चित देखेपछि अनावश्यक विवाद खडा गरेको बताए । “मतगणनामा उनीहरू निकै पछाडि परेका छन् । हार स्वीकार गर्न नसकेर विरोधको नाटक गरेका हुन् । अनेरास्ववियुले यसअघि पनि स्ववियुको नेतृत्व गरेको छ र यो पटक पनि गर्छ,” उनले दाबी गरे । पुनः मतगणनाको मागप्रति अनेरास्ववियुले कडा आपत्ति जनाएको छ ।
विरोध प्रदर्शनले उग्र रूप लिएपछि पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याल र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र क्याम्पस पुगेका थिए । विद्यार्थी नेताहरूसँगको छलफलमा बदर मतहरूलाई सदर गरेको प्रमाण फेला परेको अखिल (क्रान्तिकारी) का नेता आसिफ अहमदले बताए । तर, क्याम्पस प्रशासनले यस विषयमा कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
निर्वाचन अधिकृत अन्जु कुमारी महतोसँग पटक-पटक सम्पर्क गर्न खोज्दा उनले फोन उठाइनन् । क्याम्पस पुगेका सञ्चारकर्मीहरूलाई समेत द्वारपालले प्रवेश गर्न दिएनन् र दुर्व्यवहार गरेको गुनासो सुनिएको छ ।
मङ्गलवार भएको निर्वाचनमा क्याम्पसका २७३ मतदातामध्ये २७२ जनाले मत खसालेका थिए । मतगणना स्थगित हुनुअघिको पछिल्लो परिणामअनुसार स्ववियु अध्यक्ष पदमा अनेरास्ववियुकी आर्जु राय ८६ मतसहित अग्रस्थानमा थिइन् । नेविसंघकी दियान्सु श्रेष्ठ ७८ मतसहित दोस्रो र अखिल (क्रान्तिकारी) की कविता आचार्य ५२ मतसहित तेस्रो स्थानमा थिइन् । बाँकी मतहरूको गणना हुन बाँकी रहँदा नै विवाद चर्किएको हो ।
नेविसंघ र अखिल (क्रान्तिकारी) ले पुनः मतगणना नभएसम्म विरोध जारी राख्ने अडान लिएका छन् । उनीहरूले निर्वाचन प्रक्रियालाई स्वच्छ र पारदर्शी बनाउन जिल्ला प्रशासनको हस्तक्षेप आवश्यक रहेको बताएका छन् । यता, अनेरास्ववियुले भने पुनः मतगणनाको मागलाई “अनुचित” भन्दै अस्वीकार गरेको छ ।
विवादले वीरगञ्ज नर्सिङ क्याम्पसको शैक्षिक वातावरणमा तनाव सिर्जना गरेको छ । क्याम्पस प्रशासनको मौनता, विद्यार्थी सङ्गठनहरूबिचको आरोप–प्रत्यारोप र धाँधलीको गम्भीर आशङ्काले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठेको छ । जिल्ला प्रशासनले मध्यस्थता गरेर विवाद समाधान नगरे घटनाले थप जटिल रूप लिन सक्ने देखिन्छ ।
अहिलेलाई मतगणना स्थगित छ र सबै पक्षको ध्यान विवाद कसरी टुङ्गिन्छ भन्नेमा केन्द्रित भएको छ । क्याम्पसमा शान्ति कायम राख्न प्रहरी परिचालन गरिएको छ भने विद्यार्थीहरू आ–आफ्नो अडानमा दृढ देखिएका छन् ।
पर्सामा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका दुई आङ्गिक क्याम्पस—ठाकुरराम बहुमुखी क्याम्पस र वीरगञ्ज नर्सिङ क्याम्पसमा मङ्गलवार स्ववियु निर्वाचन भएको थियो । ठाकुरराम क्याम्पसमा अहिलेसम्म मतगणना सुरु भएको छैन भने नर्सिङ क्याम्पसको विवादले मतगणना प्रक्रिया अनिश्चित बनेको छ ।