माओत्सेतुङ विश्व कम्युनिष्ट आन्दोलनका महान् नेता हुन् । उनी नयाँ जनवादी क्रान्तिका प्रणेता हुन् । माओको नयाँ बिचारसहित उनकै नेतृत्वमा नै चीनमा नयाँ जनवादी क्रान्ति सफल भएर जनवादी गणतान्त्रिक ब्यवस्थाको स्थापना भएको हो । माओत्सेतुङबिना विश्व कम्युनिस्ट आन्दोलन नै अधुरो रहन्छ ।
कमरेड माओत्सेतुङको जन्म २६ डिसेम्बर १८९३ मा मध्य चीनको दक्षिणी भागमा रहेको प्रान्तीय राजधानी चाङ्साबाट नजिकै हुनान प्रान्तको साओसान गाउँमा भएको थियो । उनका पिता माओ सेङ्ग एक सामान्य व्यक्ति थिए । उनको पूरा नाम माओ जोन सेङ्ग (कुसेन) थियो । माओका पिता कन्फ्युसियन थिए भने माओकी आमा चाहिँ स्याङ स्याङ जिल्लाको तुङ् चियातो गाउँमा बेन परिवारकी थिइन् र बौद्ध धर्ममा आस्था राख्थिन् । कमरेड माओ गरिब परिवारमा जन्मिएका थिए । उनले सात वर्षको उमेरदेखि नै आफ्नो पितालाई कृषिमा सघाउन थालेका थिए र सामन्ती व्यवस्थालाई राम्ररी बुझेका थिए । उनको बुवाले लेखनको ज्ञान दिन उनलाई निजी शिक्षक कहाँ पठाएका थिए । सानो छँदा माओ आफ्नो आमाबाट प्रभावित भएर बौद्ध धर्मतिर आकर्षित हुनुभयो तर किशोर अवस्थामा माओले बुद्ध धर्म त्याग गरेका थिए । जब माओको मन बाल्यकालदेखि नै किताबमा डुब्न थालेको थियो, तब उनी दुई उपन्यास द रोमान्स अफ द मनकी वाटर मार्जिन र द रोमान्स अफ द किङ्गडम’ पढेर प्रभावित भएका थिए । उनका बुवाले उनलाई १२ वर्षको उमेरमा शिक्षाबाट टाढा लगेर खेतीपातीमा लगाउने कोसिस गरे । तर माओले आफ्नो बुवाको आदेश पालन गरेर बस्न स्वीकार गरेनन् । उनले अध्ययनलाई नै निरन्तरता दिए । युवावस्थामा माओले स्थानीय विद्यालयमा शास्त्रीय प्राथमिक चिनियाँ‘ शिक्षा प्राप्त गरे, जसमा कन्फ्युसियस र प्राचीन चिनियाँ साहित्यको अध्ययन समावेश थियो । उनलाई शास्त्रीय शिक्षा त्यति मन परेको थिएन । स्कुल छोडिसकेपछि पनि माओले शास्त्रीय दार्शनिक ग्रन्थप्रतिको आफ्नो रुची कायमै राखे ।
यही बीचमा सन् १९०७ को अन्त्य र १९०८ को शुरुमा माओ परिवारमा बाउछोराबीच अर्को द्वन्द्व भयो । कारण उनका पिता माओ जोन सेङ्ले उनलाई गरिदिएको विवाह स्वीकार्य भएन किनकि १४ वर्षको माओको लागि दुलही २० वर्षकी थिइन् र उनीसँग बस्न माओ असहमत भए । यसरी असन्तुष्ट रहेका माओत्सेतुङलाई उनको विद्रोही स्वभावका कारण विद्यालयबाट निष्कासित गरियो र धेरै दिनसम्म घरबाट भागेपछि साओसानमा आफूले चिनेका एक बेरोजगार विद्यार्थीलाई भेटे । त्यसपछि उनले उत्साहपूर्वक आफ्नो पढ्ने काम जारी राखे ।
माओत्सेतुङ आफ्नो शिक्षा जारी राख्न हुनान प्रान्तको राजधानी चाङसामा गए । त्यहाँ स्थानीय उदारवादका साथै पश्चिमी वैज्ञानिकहरूका धेरै कृतिहरू पढेपछि उनी फ्रेडरिक पाउल सेनबाट प्रेरित भए । उनले राष्ट्रिय परिस्थितिको अनुभूति गर्न थालेपछि राजनीतिक र सामाजिक आन्दोलनको इतिहास अध्ययन गरे । सन् १९११ मा उनी १८ वर्षको हुँदा बुहानबाट शुरु भएको पहिलो क्रान्ति देखेपछि उनको जीवनमा त्यसको गहिरो प्रभाव प¥यो र उनमा राष्ट्रवादको भावना जागृत भयो । उनले यस क्रान्तिको विस्तृत विश्लेषण गरेका थिए । उनले छिङ राजालाई परास्त गर्ने क्रान्तिको बेला सन् १९११ र १९१२ मा सैन्य तालिम लिन चाङसाको ब्यारेकमा सेनामा भर्ना भएर ६ महिना बिताए र १९१२ मा सैन्य तालिम लिएर सेना छाडे । त्यसपछि उनी चिनियाँ समाजवादी पार्टीको नीतिहरूको प्रशंसा गर्दै चिनियाँ समाजवादतर्फ लागे । सन् १९१३ र १९१८ को बीचमा माओत्सेतुङले शिक्षक तालिम विद्यालयमा अध्ययन गरिसकेपछि अरु धेरै क्रान्तिकारी विचारहरू आर्जन गरे र ती विचारहरूलाई अँगाल्न थाले । सन् १९१५ मा उनी विद्यार्थी संगठनको सचिवमा निर्वाचित भएर विद्यार्थी स्वशासनको लागि सङ्घको गठन गरी आन्दोलनको नेतृत्व गरे । माओले सन् १९१७ मा आफ्नो पहिलो लेख रचना न्यू युथ पत्रिकामा प्रकाशित गरेर पाठकहरुलाई क्रान्तिको सेवामा आफ्नो शारीरिक शक्ति बढाउन निर्देश गरे । रूसको अक्टोबर क्रान्तिबाट माओ धेरै प्रभावित भएका थिए । अप्रिल १९१८ मा ‘पिपुल्स स्टडी सोसाइटीलाई नवीकरण गरेर माओले जियाओ जिसेङ्ग र काइ हेसानसँग शारीरिक सहनशीलताको उपलब्धिहरू प्रदर्शन गरे । अन्य युवासँग मिलेर उनले चेनडुक्सीउका विचारहरूमाथि बहस थाले।
अक्टोबर १९१९ मा माओकी आमाको मृत्यु हुँदा पनि उनी साओसान फर्किएनन् । उनका पिताको पनि जनवरी १९२० मा मृत्यु भयो । ली दा झाओ चिनियाँ कम्युनिष्ट पार्टीका सहसंस्थापक थिए । माओको विकासशील र क्रान्तिकारी विचारहरूबाट उनी धेरै प्रभावित भएका थिए । यही बेलामा माओले विभिन्न विद्वानहरूको सेमिनारहरूमा पनि भाग लिएका थिए । सन् १९१९ मा माक्र्सवादी साहित्यबाट माओ धेरै प्रभावित भइसकेका थिए र संगठनका धेरै कामहरू गरिसकेका थिए । सन् १९२० मा माओलाई प्रादेशिक प्रशासनको पुनर्गठनमा पहिलो सामान्य विद्यालयको जुनियर सेक्सनको प्रधानाध्यापक नियुक्ति गरियो । सन् १९२० मा नै माओले आफ्नो प्राध्यापककी छोरी यङकाई हुईसँग दोश्रो विवाह गरे। त्यसपछि उनले कम्युनिष्टका विभिन्न किताबहरू अध्ययन गरे । त्यसै वर्ष नै उनले कम्युनिष्ट घोषणापत्रको अनुवाद पढे र प्रतिबद्ध माक्र्सवादी बने । सन् १९२० मा नै माओ रुसी माक्र्सवादको प्रभावमा आए र रुसी समाजवादको ठूलो समर्थक बने ।
सन् १९२१ मा चेन डुक्सिउ र लि दा झाओले अध्ययन समाज र अनौपचारिक सञ्जालको रुपमा संघाइको फ्रान्सेली इलाकामा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । माओ हुनान स्वायत्तताको आन्दोलनमा संलग्न भएका थिए । २७ वर्षको उमेरमा माओ चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिएका थिए । माओ अब हुनान शाखाको पार्टी सचिव बने । अगस्ट १९२१ मा कमरेड माओले स्व–अध्ययन विश्वविद्यालयको स्थापना गरे । उनले १९२२ मा संघाइमा भएको कम्युनिष्ट पार्टीको दोस्रो महाधिवेशनमा ठेगाना हराएर छुट्नुभएको थियो तापनि महाधिवेशनको निर्णयमा सहमत हुनुभयो । कमरेड माओ एक सुष्पष्ट साम्राज्यवाद विरोधी थिए र आफ्ना लेखहरूमा जापान, बेलायत र संयुक्त राज्य अमेरिकाका सरकारहरूलाई जल्लाद र हत्याराको संज्ञा दिएर वर्णन गरेका थिए ।
जुन १९२३ मा भएको पार्टीको तेस्रो महाधिवेशनबाट माओ पार्टी कमिटीमा निर्वाचित भए र संघाइमा बसे । सन् १९२४ को अन्त्यमा कमरेड माओ बिरामी भई उपचारको लागि शाओ सान फर्किए । आफ्ना क्रान्तिकारी गतिविधिहरूका कारण माओका अधिकारीहरूको ध्यान आकर्षित हुँदै गएपछि माओ सतर्क भएर निरन्तर आफ्नो क्रान्तिकारी गतिविधिलाई अगाडि बढाइरहे । सन् १९२५ मा सनयात सेनको मृत्यु भयो ।
क्वामिङ्ताङ पार्टीको नेतृत्व चेङकाइसेकले लियो । कम्युनिस्ट र वाम कमिंगताङ पार्टी चेङ्काइसेक भन्दा पछाडि परे । माओले चियाहुको क्रान्तिकारी सेनालाई समर्थन गरे । सन् १९२६ मा उत्तरी अभियानको युद्ध शुरु भयो । किसानहरूले जमिन्दारहरूको धेरै जग्गा कब्जा गरे । मार्च १९२७ मा माओले बुहानमा क्वमिङताङ कार्यसमितिको केन्द्रीय बैठकमा भाग लिए । अप्रिल १९२७ मा माओलाई क्वोमिङताङको पाँच सदस्यीय केन्द्रीय भूमि समितिमा नियुक्त गरियो ।
च्याङ्काई सेकले संघाईमा आक्रमण गरी कम्तिमा ५००० कम्युनिष्टहरूको हत्या ग¥यो । झाङ जुअलीद्वारा बेजिङमा हजारौं कम्युनिस्टहरू मारिए र बुहान सरकारले सबै कम्युनिष्टहरूलाई कमिङताङबाट निष्कासन ग¥यो । कामरेड माओले दुर्गम ग्रामीण इलाकामा गएर क्रान्तिकारी संगठनलाई बलियो बनाउने काम गरे र चीनमा गृहयुद्धको शुरुवात भयो । अक्टोबर १९३० मा माओकी पत्नी र उनको एउटा छोरालाई चाङ्सा कोमिङताङको एक स्थानीय युद्ध सरदार हेजियानले कब्जा गरी पत्नीलाई हत्या ग¥यो र छोरालाई आफन्त कहाँ पठायो । कमरेड माओले त्यही वर्षको मे महिनामा १८ वर्षीय क्रान्तिकारी हेजिजेनसँग तेस्रो विवाह गरे। यसरी विभिन्न प्रकारका आन्तरिक समस्याहरूको सामना गर्दै माओ निरन्तर आफ्नो क्रान्तिकारी क्रियाकलापमा अगाडि बढिरहे । माओलाई जन कमिसारहरूको परिषद् सदस्य घोषित गरियो । लालसेनाको नियन्त्रण चाउ एन लाईलाई दिइएको थियो । सन् १९३१ मा माओत्सेतुङ जियाङ्सी प्रान्तमा गणराज्यको अध्यक्ष निर्वाचित भए । त्यसपछि माओले दुश्मनहरूका विरुद्ध विभिन्न नीति, कार्यनीति र रणनीतिका विभिन्न अभियानहरु सञ्चालन गर्दै लम्बे अभियानसमेत पार गर्दै अगाडि बढे। नोभेम्बर १९३५ मा माओलाई सैन्य आयोगको अध्यक्ष बनाइयो । यसपछि माओ कम्युनिष्ट पार्टीको निर्विवाद र निर्बिकल्प नेता भए ।
सन् १९३८ मा माओले हेजिजेनसँग सम्बन्धविच्छेद गरी अभिनेत्री च्याङ चिङसँग चौथो विवाह गरे जसलाई पछि ‘म्याडम माओ’को रुपमा स्थापित गरिएको थियो । सन् १९४६ मा माओलाई आफ्नो क्रान्ति सफल बनाउने समय आयो । यस समयमा चीनमा गृहयुद्ध शुरु भयो र माओले स्थितिको पूरा फाइदा उठाए । उनले च्याङको विशाल सेनालाई छापामार युद्धद्वारा भाग्न बाध्य बनाए । लाल सेनाको सैन्य कारवाही बढाउन माओले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्षका रूपमा आफ्ना नजिकका सहयोगी जनरल सुतेलाई यसको कमाण्डर इन चिफ नियुक्त गरे । सन् १९४८ मा माओको प्रत्यक्ष कमाण्डमा जनमुक्ति सेनाले च्याङचुङ सहर कब्जा गरिरहेको सेनालाई भोकै मर्ने परिस्थिति सिर्जना गरिदियो । जुनदेखि अक्टोबरसम्म चलेको त्यो घेराबन्दीमा कम्तिमा एक लाख १० हजार व्यक्तिको मृत्यु भयो । जनवरी १, १९४९ मा कम्युनिस्टहरूले पेकिङलाई आफ्नो नियन्त्रणमा लिए ।
माओका सेनाहरू विरुद्धको निर्णायक युद्धमा कोमिङताङ सेनाहरूले ठूलो क्षति व्यहोरे । १० डिसेम्बर १९४९ को बिहान पीएल ए सेनाहरुले मुख्य भूमि चीनको चेङ्किङ (छुङ्किङ) र चेङ्दुलाई घेराबन्दी गरे । चियाङकाइसेक मुख्यभूमि छोडेर फोर्मोसा ताइवानतिर गयो । का. माओले अक्टोबर १, १९४९ मा ग्रेट अफ हेवेनली पिस (तियान मेन)बाट जनवादी गणतन्त्र चीनको स्थापनाको घोषणा आत्मविश्वासपूर्ण तरिकाले गरे । १० डिसेम्बरमा जनवादी गणतन्त्र चीनको घोषणा गरेपछि माओ मस्को भ्रमण गएका थिए । त्यसपछि स्वदेश फर्केर उनले कम्युनिष्ट पार्टी र देशको प्रशासनको नेतृत्व सम्हाले। नयाँ जनवादका प्रणेता, चीनको धर्तीमा जन्मिएका महान विश्वप्रसिद्ध कम्युनिष्ट नेता माओत्सेतुङ आज हाम्रो सामु छैन। उनको १९७६ मा मृत्यु भयो । तथापि उनको नीति तथा विचारहरू माओवाद र माओ विचारधाराको नामले संसारभरि व्याप्त छ ।