×

वीरगञ्ज । पर्साको खुवाप्रसौनी गाउँपालिका – ४ को वडा कार्यालयमा तोडफोड गरिएको छ । मङ्गलवार राति अपरिचित समूहले वडा कार्यालयमा तोडफोड गरेको हो ।

पहिचान खुल्न नसकेको समूहले मङ्गलवार राति वडा कार्यालयको ढोका फोडेर भित्र प्रवेश गरी फर्निचरहरू तोडफोड गर्नुका साथै कागजपत्र र फाइलहरू च्यातच्युत पारेर छरेको अवस्थामा बुधवार बिहान भेटिएको वडाध्यक्ष मोहम्मद आरिफ अन्सारीले जानकारी दिए ।

वडाध्यक्ष आरिफका अनुसार, कार्यालयमा तोडफोड कसले र किन गरेको सम्बन्धमा अहिलेसम्म खुल्न सकेको छैन ।

तोडफोडबाट भएको क्षतिको विवरण सङ्कलन र उक्त घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजीका लागि प्रहरी परिचालन गरिएको उनले बताए ।

घटनास्थलमा बुधवार बिहान इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

Back to top