×

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका – ९ एकटाङ्गा निवासी सुरेश यादवको घरमा आगलागी भएको छ ।

खाना पकाउने क्रममा चुल्होबाट सल्किएको आगोले आगलागी भएको इलाका प्रहरी कार्यालय एकटाङ्गाका प्रहरी नायब निरीक्षक नवराज घिमिरेले बताए । 

आगो नियन्त्रण गर्न सखुवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिकाको दमकल (बारुण यन्त्र), स्थानीय बासिन्दा र प्रहरी टोलीको सहयोग लिइएको थियो ।

आगलागीका कारण सुरेश यादवको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने ८ वटा बाख्रा पनि जलेका छन् । यस्तै, धान, चामल, गहुँ, लत्ताकपडा, सुन र चाँदीका गरगहना जलेर नष्ट हुँदा करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । 

आज बिहान ६:२० बजे सुरु भएको आगलागी ७:५० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

प्रहरीका अनुसार खाना पकाउन चुल्होमा आगो बालेर अन्य काममा व्यस्त हुँदा आगो सल्किएको र नजिकै रहेको भुसमा फैलिँदा आगलागी भएको हो ।

Back to top