वीरगञ्ज । जम्मू–कश्मीरको पहलगाममा हालै भएको आतङ्कवादी हमलामा २८ जनाको हत्या भएपछि भारत सरकारले नेपाल हुँदै भारतमा हुने सम्भावित घुसपैठलाई रोक्न सीमा क्षेत्रमा कडा निगरानी थालिएको छ।
भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौल नाकालगायत विभिन्न प्रवेश विन्दुमा सशस्त्र सीमा बल (एसएसबी) ले सुरक्षा चेक कडा बनाएको छ। अब नेपालबाट भारत प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने नियम लागू गरिएको छ।
रक्सौलदेखि काठमाण्डौ राजमार्ग तथा सीमा क्षेत्रको पिलर नं. ३९३ सम्मका सबै नाकाहरूमा एसएसबीको कडा सुरक्षा व्यवस्था लागू गरिएको छ। पैदल, मोटरसाइकल वा चारपाङ्ग्रे सवारीसाधन प्रयोग गर्ने सबै यात्रुको पहिचान जाँच गरिँदै छ।
घुसपैठ, हतियार तथा विस्फोटक पदार्थको तस्करी नियन्त्रण गर्नका लागि डग स्क्वाड (विशेष तालिम प्राप्त कुकुर टोली) तथा स्क्यानर ब्यागेज सिस्टम समेत परिचालन गरिएको छ। एसएसबीको सिभिल विङले सीमावर्ती क्षेत्रमा शंकास्पद गतिविधिमाथि निरन्तर निगरानी गरिरहेको छ।
ग्रामीण मार्ग, खोला, खेत तथा अन्य सम्भावित अवैध मार्गहरूमा समेत सुरक्षा निकायहरूले गस्ती तथा चौकसी कडा बनाएका छन्। दिनरात निगरानी बढाइएको छ, ताकि कुनै पनि अवैध गतिविधि हुन नदिइयोस्।
नेपाल–भारतबीचको परम्परागत ‘रोटी–बेटी’ सम्बन्ध र खुला सीमा नीतिका कारण अघिसम्म नागरिकहरू स्वतन्त्र रूपमा ओहोर–दोहोर गर्दै आएका थिए। तर हालको घटनाक्रमपछि नेपालबाट भारत प्रवेश गर्ने सबैको अनिवार्य परिचयपत्र जाँच सुरु गरिएको छ, जसमा सर्वसाधारणको पनि सक्रिय सहयोग देखिएको छ।
सीमा क्षेत्रमा बढाइएको कडाइको प्रभावस्वरूप रक्सौल नाकाबाट हालै एक जना अमेरिकी नागरिक र एक साइबर ठगीमा संलग्न अभियुक्तलाई अवैध रूपमा भारत प्रवेशको प्रयासमा पक्राउ गरिएको छ।
यसले सीमा कडाइका कारण अवाञ्छित तत्वहरूको पहिचान र नियन्त्रण सम्भव भएको प्रमाणित गरेको सुरक्षा अधिकारीहरूले बताएका छन्।