विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाले विशेष कार्यक्रम आयोजना गर्दै मानवता, सेवा र शान्तिको सन्देश फैलाएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला सदस्य मुना खनालले मानवताको पक्षमा रेडक्रसकर्मीहरूले तन, मन र धनले समर्पित हुनुपर्ने बताउँदै, “म सधैँ मानवताको सेवामा रहनेछु,” भन्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले रेडक्रसका जन्मदाता जान हेनरी ड्युनान्तको तस्बिरमा माल्यार्पण र दीप प्रज्वलन गर्दै हिंसा परित्याग गरी शान्ति कायम राख्न सबैलाई आग्रह गरिन्।
कार्यक्रममा वरिष्ठ समाजसेवी अधिवक्ता प्रकाश उपाध्यायले स्वागत मन्तव्य दिँदै, "रेडक्रसकर्मीमा मानवता हुनैपर्छ। मानवता बिना समाज, देश र संसार नै अराजक बन्न सक्छ," भनी चेतावनी दिए। उनले वर्तमान विश्व हिंसाको चपेटामा परिरहेको उल्लेख गर्दै सबैलाई मानवताको पक्षमा समर्पित हुन आग्रह गरे।
उपशाखा उपसभापति सरिता यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व सभापति नारायण यादव, पूर्व उपसभापति सुरेन्द्र प्रसाद कानु, सहसचिव राजु साह, सहकोषाध्यक्ष अभिलाष गुप्ता, सदस्यहरू रामसुदिष्टलाल कर्ण, नवराज भट्टराई, सोनु पटेल लगायतको उपस्थिति थियो।
अध्यक्ष यादवले भने, “बाहिरी युद्धभन्दा पनि आत्मभित्रको नकारात्मकता र द्वेषको युद्ध जित्नु अहिलेको प्रमुख आवश्यकता हो।” उनले सम्पूर्णलाई रेडक्रस दिवसको शुभकामना दिँदै धन्यवाद ज्ञापन गरे।
कार्यक्रमको सहजीकरण सचिव लालबाबु सिंहले गर्दै रेडक्रसको ऐतिहासिक पृष्ठभूमि स्मरण गरे। उनले युद्धमा घाइतेहरूको सेवा गर्दै ड्युनान्तले सुरु गरेको रेडक्रस संस्था आज विश्वव्यापी आशाको केन्द्र भएको बताउँदै, “दुई छिमेकी देशबीच युद्धको अवस्था देखिँदा चिन्ता लाग्दो छ। शान्तिको पहलका लागि सम्पूर्णले प्रयत्न गर्नुपर्छ,” भन्दै मानवता र शान्तिको सन्देश फैलाए।