×

वीरगञ्ज । भारतको जम्मु–कश्मीरमा करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेका अमरजीत सिंह दत्ता हाल वीरगञ्जमा खुलेआम बसोबास गर्दै आएका छन्। उनले ठगीबाट आर्जन गरिएको रकममार्फत वीरगञ्जमा विद्यालय, पेट्रोल ट्यांकर गाडी सेवा गर्दै विलासी जीवनशैली अपनाएको खुलासा भएको छ।

दत्ताले वीरगञ्जको तिनमुर्ती हल नजिकै “बाल एकता बोर्डिङ स्कुल” सञ्चालन गरिरहेका छन् भने डाइपोट नजिकै अर्को ठूलो लगानीको विद्यालय निर्माण गरिरहेका छन्। स्रोतका अनुसार, उनले केही महिना अघि ठगीको रकमबाट ३ वटा पेट्रोल ट्यांकर गाडी किनेका छन् र खुलेआम व्यवसायिक क्रियाकलाप गरिरहेका छन्।

भारतीय प्रवर्तन निर्देशनालय (ईडी) का अनुसार, अमरजीत सिंह दत्ताले ‘दत्ता फाइनान्स’, ‘दत्ता ट्रेडिंग कर्पोरेशन’, ‘भन्ना फाइनान्स इंडिया लिमिटेड’, ‘दत्ता फाइनान्स एण्ड ट्रेडर्स’ र ‘दत्ता वाइन कम्पनी’ मार्फत जम्मु, सम्बा, पुँछ, बरामुल्ला र श्रीनगर लगायतका सयौं सर्वसाधारणलाई “पाँच वर्षमा रकम दोब्बर” हुने लोभ देखाएर ठगी गरेका थिए।

उक्त आर्थिक अपराधमा अमरजीतसँगै उनका पिता गुरुबचन सिंह दत्ता र भाइ हरपाल सिंह दत्ताको संलग्नता रहेको बताइएको छ। भाइ हरपाल हाल अमेरिका, टेक्सासको हस्टन शहरमा पेट्रोल पम्प सञ्चालन गर्दै बसोबास गरिरहेका छन्।

अमरजीत सिंहले झुटा कागजातमार्फत नेपाली नागरिकता लिएको र भारतीय वाणिज्य दूतावासमार्फत पुनः भारतीय नागरिकको हैसियत पनि कायम राखिरहेको स्रोतको भनाइ छ। भारतमा उनीमाथि धनशोधन निवारण ऐनअन्तर्गत मुद्दा दर्ता भइसकेको र कारबाही प्रक्रिया अघि बढिरहेको छ।

यो घटनाले सीमापार ठगी, नागरिकता दुरुपयोग र अवैध धनशोधनजस्ता गम्भीर मुद्दामा नेपाल–भारतबीच सहकार्य, सूचना आदानप्रदान र कडाइ आवश्यक रहेको देखाएको छ।

Back to top