वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सुगौलीदापमा विद्युत् सेवा अवरुद्ध भएपछि विद्यालयको पठनपाठन गम्भीर रूपमा प्रभावित भएको छ। विद्युत् अवरुद्ध भएको डेढ महिनाभन्दा बढी समय बितिसक्दा पनि सेवा पुनः सुचारु नहुँदा विद्यार्थी र शिक्षक दुबैलाई समस्या भएको छ।
विद्युत् नहुँदा कक्षाकोठामा पङ्खा चल्न नसक्दा गर्मीको मौसममा पढ्नै नसकिने अवस्था रहेको विद्यार्थीहरूको गुनासो छ। विद्यालयको भवन कर्कट पाताले छाएको हुँदा चर्को घाम लागेपछि कक्षाकोठा भट्टीसरह तात्ने गरेको छ। यसले विद्यार्थीहरूमा छाला चिलाउने, घमौरा आउने जस्ता स्वास्थ्य समस्या देखिन थालेका छन्।
विद्यालयमा १५–२० वटा कम्प्युटर भएको ल्याब रहे पनि विद्युत् नहुँदा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा सञ्चालन हुन सकेको छैन। प्रविधिमैत्री शिक्षाको आवश्यकता बढिरहेको समयमा यस्तो समस्या आउनु दुःखद भएको शिक्षकहरूको भनाइ छ।
विद्यालय प्रशासनका अनुसार, विद्युत् सेवा अवरुद्ध हुनुको मुख्य कारण विद्युत् महसूल बापतको पाँच लाख रुपैयाँभन्दा बढीको बक्यौता हो। विद्युत् प्राधिकरणले बक्यौता नतिरेको कारण सेवा कटौती गरेको हो।
विद्यालय व्यवस्थापन समितिले पटेर्वासुगौली गाउँपालिकासँग विद्युत् महसूल तिर्न र सेवा पुनः सुचारु गर्न पटक–पटक आग्रह गरिरहेको जनाएको छ। विद्यालय व्यवस्थापन समितिका एक सदस्यका अनुसार, "शिक्षाजस्तो संवेदनशील क्षेत्रमा तत्काल ध्यान दिन जरुरी छ। पालिकाको सहयोगबिना विद्यार्थीको भविष्य अन्योलमा पर्नेछ।"
विद्युत् सेवा अवरुद्ध हुँदा शिक्षण–अध्ययन ठप्प हुनुको साथै विद्यार्थीको शैक्षिक भविष्य पनि जोखिममा परेको हुँदा स्थानीय तह र सरोकारवाला निकायको तत्काल ध्यानाकर्षण आवश्यक देखिएको छ।