हेटौँडा । गर्मी मौसमसँगै पिकनिक मनाउने चटारो सुरु भइसकेको छ । तराईको गर्मीबाट राहत पाउन र शीतल वातावरणमा रमाउन त्रिखण्डी क्षेत्र लामो समयदेखि पिकनिकको प्रमुख गन्तव्यको रूपमा परिचित रहँदै आएको छ । तर पछिल्लो समय अत्यधिक भीड, अव्यवस्था र पार्किङ समस्या जस्ता कारणले मूल त्रिखण्डी स्पटप्रति आकर्षण घट्दो क्रममा देखिएको छ ।
यही पृष्ठभूमिमा पिकनिक प्रेमीहरूका लागि एक नयाँ विकल्पको रूपमा त्रिखण्डी नजिकै रमा होटेल परिसरमा नयाँ पिकनिक स्थल विकास गरिएको छ । त्रिखण्डीको मूल पिकनिक स्थलबाट मात्र करिब १ किलोमिटर टाढा रहेको रमा होटेल शान्त, व्यवस्थित र पारिवारिक वातावरणयुक्त भएकोले पिकनिकका लागि आकर्षक गन्तव्य बनेको छ ।
रमा होटेलका सञ्चालिकाका अनुसार पिकनिक मनाउन चाहनेहरूका लागि खुला र सफा स्थान विशेष तयारीसहित खुला गरिएको छ । “यहाँ गाडी पार्किङ निःशुल्क छ, होटेलमै खानपानको सुविधा छ, साथै पिकनिक स्पट प्रयोग गरेबापत न्यूनतम शुल्क मात्र लाग्ने व्यवस्था गरिएको छ,” उनले भनिन् ।
स्थानीयहरूका अनुसार, भिडभाड कम, वातावरण स्वच्छ र खुला स्थान उपलब्ध भएकाले बालबालिका, वृद्धवृद्धा र पारिवारिक जमघटका लागि रमा होटेल पछाडिको नयाँ पिकनिक स्पट उपयुक्त गन्तव्य बन्दै गएको छ ।
यसरी वैकल्पिक पिकनिक स्थलको विकास हुनु त्रिखण्डी क्षेत्रमा बढ्दो पर्यटक चाप व्यवस्थापन गर्ने दृष्टिकोणले समेत सकारात्मक कदम मानिएको छ । स्थानीय व्यवसायीहरू र समाजसेवीहरूले पहललाई स्वागत गर्दै यसले स्थानीय पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने विश्वास व्यक्त गरेका छन् ।