वीरगञ्ज । पर्सा जिल्लाका किसानहरू अहिले धमाधम भदैया र अगहनी धानबालीका लागि बीउ छर्ने कार्यमा व्यस्त भएका छन् । गण्डक सिँचाइ नहरको उत्तर थरुहट क्षेत्रदेखि दक्षिणको बझियान क्षेत्रसम्मका किसानहरू बीउ छर्ने क्रममा जुटिरहेका छन् ।
सामान्यतया जेठको अन्तिम साताबाट सुरु हुने धानको बीउ छर्ने कार्य यस वर्ष जेठको दोस्रो सातामै वर्षा भएपछि समयमै सुरु भएको हो । धानको बीउ २५ दिनमा तयार हुने भएकाले किसानहरू असार १५ अगावै रोपाइँ गर्न तयार हुने अपेक्षा गरिएको छ ।
पोखरिया नगरपालिकाका किसान हरिन्द्र महतो चाईका अनुसार, पर्सेली किसानहरूमा भारतीय धानको बीउप्रति विश्वास बढी देखिएको छ । स्थानीय सहकारी र पालिकाहरूले अनुदानमा उपलब्ध गराउने बीउ कमसल हुने गुनासो गर्दै किसानहरू छिमेकी भारतीय बजारबाट बीउ खरिद गरिरहेका छन् ।
सिकटा, भेलाही, मैनाटार, इनर्वा, भङ्गाहा बलुवा, जमुनिया, नरकटियागञ्ज जस्ता सीमावर्ती भारतीय बजारहरूबाट बीउ ल्याउने क्रम जारी छ । यस्तै, मलको जोहो समेत भारतीय बजारबाट गरिने गरेको किसानहरूले बताएका छन् ।
भारतीय बीउको माग उच्च देखिएपछि अहिले नेपाली बजारमै पनि भारतीय बीउ खुलेआम बिक्री हुन थालेको छ । व्यापारीहरूले किसानको माग अनुसार भारतीय बीउ नेपालमै ल्याएर बिक्री गरिरहेका छन् । यसले किसानहरूलाई सीमापारि जानु नपर्ने अवस्था बनाएको छ ।
वीरगञ्ज महानगरपालिकाले जेठ ९ गतेदेखि सहुलियत दरमा धानको बीउ बिक्री सुरु गरिसकेको छ । यता पोखरिया नगरपालिकाले सूचना प्रकाशन गरेर बीउ वितरणको तयारी थालेको छ । सहुलियतमा ५० प्रतिशत अनुदानमा बिक्री गरिने बीउको मूल्य करिब ३७ रुपैयाँ प्रतिकिलो पर्न आएको छ भने भारतीय बीउको खुला बिक्री मूल्य १०० रुपैयाँ प्रतिकिलो रहेको छ ।
हालसम्म वीरगञ्ज महानगरपालिकाले मात्रै सहुलियतमा बीउ वितरण थालेको भए पनि अन्य पालिकाहरूले तयारी गरिरहेका छन् । कृषि विज्ञहरूका अनुसार समयमै बीउ छर्न पाउँदा उत्पादन राम्रो हुने सम्भावना बलियो हुन्छ ।