वीरगञ्ज । नेशनल मेडिकल कलेजको नेतृत्वमा युवा र दूरदर्शी प्रबन्ध निर्देशक शाहनवाज अंसारीको आगमनपछि संस्थाको कार्यशैलीमा महत्वपूर्ण रूपान्तरण देखिन थालेको छ।
उनको नेतृत्वमा कलेजले जनताको पहुँचमा आधारित सेवा प्रवाहमा प्राथमिकता दिँदै स्वास्थ्यलाई मानव अधिकारको रूपमा सम्बोधन गर्ने सोच सहित विभिन्न जनकल्याणकारी कार्यक्रमहरू अगाडि बढाएको छ।
स्थानिय तहसँग सहकार्य, सहुलियतपूर्ण उपचार सुविधा, स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममार्फत कलेज जनता–सेवा-मुखी संस्थाको रूपमा अघि बढिरहेको छ।
बुधबार कलेजले वीरगन्ज महानगरपालिकाका ३२ वटै वडाहरूसँग स्वास्थ्य सेवा सम्बन्धी ऐतिहासिक सम्झौता गरेको छ। कलेजको सभाहलमा सम्पन्न कार्यक्रममा वडा अध्यक्षहरू र कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
प्रबन्ध निर्देशक अन्सारीले पदभार सम्हालेपछि कलेजले सेवा प्रवाहमा नयाँ सोच र दृष्टिकोणसहित नागरिकमुखी कार्यक्रमहरू अघि सारेको बताउँदै यो सम्झौता त्यसकै एक उदाहरण भएको बताएका छन्।
सम्झौताअनुसार महानगर क्षेत्रका बासिन्दाहरूलाई नेशनल मेडिकल कलेजले विभिन्न स्वास्थ्य सेवामा छुट दिनेछ। छुट सुविधा यस प्रकार छन्: ओपीडी टिकटमा: २५ प्रतिशत, जेनरल बेड चार्जमा: १५ प्रतिशत, आईसीयू, एनआईसीयू, पीआईसीयू बेड चार्जमा: ५ प्रतिशत, लाप्रोस्कोपिक तथा इन्डोस्कोपिक शल्यक्रियामा: ८ प्रतिशत, प्याथोलोजी परीक्षणमा: १० प्रतिशत, एक्सरे, भिडियो एक्सरे, ईसीजी, इन्डोस्कोपीमा: ७ प्रतिशत, सिटी स्क्यान र एमआरआईमा: ७ प्रतिशत, फार्मेसी (ओपीडी) मा: १० प्रतिशत, फार्मेसी (आईपीडी) मा: १५ प्रतिशत गरिएको छ।
यी सेवाहरूको छुट लिनका लागि सम्बन्धित वडा कार्यालयको लेटरप्याडमा सिफारिस अनिवार्य हुने व्यवस्था गरिएको छ।
सम्झौताअनुसार कलेजले प्रत्येक तीन महिनामा ३२ वटै वडा कार्यालयहरूसँग समन्वय गर्दै निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम पनि सञ्चालन गर्नेछ।
एक वर्षका लागि लागू हुने यो सम्झौता आवश्यकताअनुसार दुवै पक्षको सहमतिमा परिमार्जन, थपघट गर्न सकिने व्यवस्था गरिएको छ।
कार्यक्रममा अधिकांश वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो। वडा अध्यक्षहरूले यो सम्झौतालाई ऐतिहासिक मानेका छन् र गरीब तथा असहाय नागरिकहरूलाई उपचारमा सहजता मिल्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा नेशनल मेडिकल कलेजका निदेशक डा. ईसरत जहान अन्सारी, मार्केटिङ तथा एडमिसन डाइरेक्टर आबिद हुसेन, एकेडेमिक डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, प्रधानाध्यापक प्रो. डा. के.एन. सिंह लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।