×

वीरगञ्ज । पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–२, प्रसौनीस्थित गढीमाई मन्दिरको नजिकै खेतमा एक अज्ञात पुरुषको शव फेला परेको छ । मन्दिरबाट करिब तीन मिटर उत्तरतर्फको खेतमा शव देखिएपछि स्थानीय बासिन्दाहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयहरूको सूचनाको आधारमा तुरुन्तै घटनास्थलमा इलाका प्रहरी कार्यालय एकटङ्गाबाट प्रहरी नायब निरीक्षक नवराज गिरीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो । प्रहरीले घटनास्थलको निरीक्षण गरी शवको मुचुल्का तयार पारेको र पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाएको जनाएको छ ।

प्रहरीका अनुसार शवको पहिचान अझै खुल्न सकेको छैन । शवको अवस्था र आसपासको परिस्थितिका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानमा शव कसरी र किन त्यहाँ पुग्यो भन्ने स्पष्ट जानकारी प्राप्त भएको छैन । प्रहरीले शवको पहिचान र मृत्युको कारण पत्ता लगाउन थप अनुसन्धान गरिरहेको छ ।

स्थानीय बासिन्दाहरूले शव फेला परेपछि गाउँमा त्रासको वातावरण सिर्जना भएको बताएका छन् ।

इलाका प्रहरी कार्यालय एकटङ्गाका प्रहरी नायब निरीक्षक गिरीले घटनाको सम्बन्धमा थप जानकारी सङ्कलन भइरहेको र पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मृत्युको कारण स्पष्ट हुने बताए । उनले स्थानीयहरूलाई कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् ।

Back to top