×

वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पटेर्वासुगौली गाउँपालिका–१ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल श्री श्री १०८ श्री बाबा दुग्धेश्वरनाथ महादेव मन्दिर रामभौरी भाथा धाममा साउने मेला भव्य रूपमा सुरु भएको छ ।

आइतबारदेखि प्रारम्भ भएको मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट जल भरि ल्याएका बोलबम कावरियाहरू बिहानैदेखि मन्दिरमा दर्शनका लागि आउन थालेका छन् । धार्मिक विश्वास अनुसार साउन महिनाभरि भक्तजनहरूले आफ्नो भाकल पूरा गर्न तथा दर्शन गर्न भाथाको दुग्धेश्वरनाथ महादेव मन्दिर पुग्ने परम्परा रहेको छ ।

मेला व्यवस्थापन समितिका अध्यक्ष गेनालाल राउत कुर्मीका अनुसार साउन महिनाभर लाग्ने मेलामा प्रत्येक सोमबार करिब पाँच हजार भक्तजनको आगमन हुने अपेक्षा गरिएको छ । पर्सा, बारा, रौतहट, चितवन, मकवानपुरलगायतका जिल्लाका साथै भारत बिहार राज्यका विभिन्न क्षेत्रका श्रद्धालुहरू भाथा पुग्ने गरेका छन् ।

मन्दिरमा वर्षको चारपटक—साउन महिनाभर, माघको वसन्त पञ्चमी, फागुनको महाशिवरात्रि र वैशाखको त्रयोदशीमा मेला लाग्ने गर्छ ।

शनिवार मन्दिर परिसरस्थित धर्मशालामा आयोजित पत्रकार सम्मेलनमा मन्दिरको ऐतिहासिकता, धार्मिक महत्त्व र पर्यटन सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो ।

अध्यक्ष कुर्मीले पर्साबाट पाँच जना मन्त्री रहेका भए पनि मन्दिरको विकासमा राज्यको सहयोग नपाएको गुनासो गर्दै स्थानीय तथा सङ्घीय तहको चासो माग गरे । उनका अनुसार पर्यटन विकास कार्यालय वीरगञ्जले सम्पन्न सौन्दर्यीकरणको कामको भुक्तानीसमेत रोकिएको छ ।

कार्यक्रममा मेला समितिका सल्लाहकार भागवत चौधरीले मन्दिर झन्डै एक सय वर्ष पुरानो भएको र पर्साको धार्मिक पहिचानको प्रतीक बनेको बताए ।

नेपाल पत्रकार महासङ्घका सदस्य प्रमोद यादवले मन्दिर क्षेत्रलाई चितवनको सौराहा वा मनकामनासँग तुलना गर्दै सरकारको ध्यान गए १२ महिना पर्यटन चल्ने अवस्था रहेको उल्लेख गरे ।

यस पटकको मेलामा खानेपानी, अस्थायी शौचालय, नेपाल टेलिकमको टावर, नदीको पानी पाइपमार्फत ल्याउने व्यवस्था, तथा दुई वटा वाटर ट्याङ्करको समेत प्रबन्ध गरिएको मेला समितिले जनाएको छ ।

पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष दिनेश चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, प्रचारप्रसार समितिका अध्यक्ष शम्भु महतो लगायतको उपस्थिति थियो ।

सरकारको ध्यान र सहयोग प्राप्त भएमा भाथा क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्न सकिने सम्भावना प्रस्ट भएको छ ।

Back to top