बायाँबाट वीरगञ्ज महानगरपालिका - २४ का वडाध्यक्ष विजयप्रसाद कर्मी वडा नम्बर
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाहरूमा खानेपानीको चरम अभावका बिच स्थानीय जनप्रतिनिधिहरूमाथि सेवा वितरणमा भेदभाव गरेको गम्भीर आरोप लागेको छ । विशेषगरी वडा नम्बर ११ र २४ का वडाध्यक्षहरूले खानेपानी जस्तो आधारभूत सुविधामा समेत आफ्ना नजिकका मतदाता र कार्यकर्तालाई मात्र प्राथमिकता दिएको भन्दै स्थानीयहरूले आक्रोश व्यक्त गरेका छन् ।
स्थानीयवासीहरूका अनुसार, खानेपानीको सङ्कट समाधान गर्न वडा कार्यालय र खानेपानी मन्त्रालयको पहलमा गरिएका डीप बोरिङ जडान र पाइपलाइन विस्तारका काममा समेत राजनीतिक पहुँच र नातावाद हाबी भएको छ ।
वडा नम्बर ११ को रानीघाट टोलका बासिन्दाहरूले वडाध्यक्ष अजय चौरसियामाथि पानी वितरणमा विभेद गरेको आरोप लगाएका छन् । स्थानीय सुजीत साहले भने, “वडाध्यक्षलाई फोन गर्दा फोन उठ्दैन, कार्यालय जाँदा भेटिँदैन । हाम्रो टोलमा पानीको सुविधा नै उपलब्ध गराइएको छैन ।” उनका अनुसार, रानीघाटमा एक जना स्थानीयले निजी बोरिङ जडान गरेर पानी वितरण गरेपछि मात्र थोरै राहत भएको छ ।”
यस्तै, रानीघाटकै अर्का बासिन्दा सोनु पटेलले वडाध्यक्ष चौरसियाले आफ्नो टोललाई पूर्ण रूपमा बेवास्ता गरेको बताए । “हाम्रो टोलमा मतदाता कम छन्, धेरैजसो यहाँ बस्नेहरू अन्य वडाका बासिन्दा, विद्यार्थी वा कामदार छन् । त्यसैले वडाध्यक्षले हामीलाई प्राथमिकतामा राख्दैनन्,” पटेलले भने । उनले वडा कार्यालयमा पटक-पटक गुहार माग्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे ।
वडा नम्बर २४ को ज्योति टोल र मनमोहन नगरका बासिन्दाहरूले पनि वडाध्यक्ष विजय प्रसाद कुर्मीमाथि उस्तै आरोप लगाएका छन् । ज्योति टोलका श्याम यादवले वडाध्यक्षले मतदाता नभएका टोलहरूलाई पानी वितरणमा बेवास्ता गरेको बताए । “हामीले पानीको समस्या लिएर जाँदा वडाध्यक्षले सोझै भने, ‘तिमीहरू मतदाता होइनौ, तिमीहरूको समस्या मेरो जिम्मेवारी होइन ।’ उनले हामीलाई बसाइसराइ गरेर वडावासी बन्न सुझाव दिए,” यादवले भने ।
वडा नम्बर २४ कै मनमोहन नगरमा कोठा भाडा लिएर बस्दै आएका विद्यार्थी सन्देश पाठकले पनि वडाध्यक्षको सौतेलो व्यवहारले दैनिक जीवन र पठनपाठन प्रभावित भएको गुनासो गरे । “हामीले फोन गरेर समस्या राख्दा वडाध्यक्ष झर्किन्छन् र हामीलाई वडावासी नभएको भन्दै जवाफ फर्काउँछन्,” पाठकले भने ।
सोहीगरी रामगढवा नयाँ बस्तीका रवि सर्राफले आफ्नो टोलमा पानीको समस्याले अवस्था विकराल भएको बताए । वडाध्यक्षलाई जति गुहार्दा पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ । “स्थानीय प्रशासनसँग समन्वय गरेर ट्याङ्कर मार्फत पानीको जोहो गर्दै छौँ, तर दीर्घकालीन समाधान गर्न वडाध्यक्षले कुनै पहल गरेका छैनन् । हामी अधिकांश टोलवासी मतदाता नभएको कारण पनि उनले सौतेला व्यवहार गरेको हुन् सक्छ,” उनले भने ।
स्थानीय समाजसेवीहरूले खानेपानी जस्तो जीवनदायी सेवामा समेत राजनीतिक पहुँच र नातावाद हाबी हुनु जनताको मौलिक अधिकारमाथिको ठाडो हस्तक्षेप भएको बताएका छन् । “पानी सबैको आधारभूत आवश्यकता हो । यो सुविधा कसैको भोट वा सम्बन्धका आधारमा वितरण गर्नु अन्याय हो,” समाजसेवी अखिलेश साहले भने ।
वीरगञ्जका सर्वसाधारणहरूले पानीजस्तो आधारभूत आवश्यकतामा समेत राजनीति घुसेको भन्दै निराशा व्यक्त गरेका छन् । “हामी नागरिक हौँ, केवल भोट दिने मेसिन होइनौँ । हामीलाई पनि समान सुविधा चाहिन्छ,” रामगढवाका श्याम तिवारीले भने । महानगरपालिका र वडा कार्यालयले तत्काल समस्याको समाधान खोज्नुपर्ने माग स्थानीयहरूको छ । स्थानीयवासीहरूले वीरगञ्ज महानगरपालिका र सम्बन्धित निकायसँग खानेपानी वितरणमा पारदर्शिता र समानता सुनिश्चित गर्न माग गरेका छन् । साथै, वडाध्यक्षहरूले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्ने र मतदाताको आधारमा सेवा वितरण नगर्ने नीति अवलम्बन गर्नुपर्ने उनीहरूको जोड छ ।
वडा नम्बर ११ का वडाध्यक्ष अजय चौरसियाले स्थानीयवासीको आरोपलाई निराधार भन्दै खण्डन गरेका छन् । उनले सीमित स्रोतसाधनका बाबजुद प्रत्येक टोलमा समान रूपमा पानीको व्यवस्थापन गर्ने प्रयास गरिरहेको दाबी गरे । “वडा ठूलो छ, केही ठाउँमा समस्या अझै छ, तर म समाधानको लागि महानगरपालिका र अन्य निकायहरूसँग पहल गरिरहेको छु । छिटै समाधान हुन्छ,” चौरसियाले भने । उनले मतदाताको आधारमा विभेद गरेको भन्ने आरोपलाई अस्वीकार गरे ।
यस्तै, वडा नम्बर २४ का वडाध्यक्ष विजय प्रसाद कुर्मीले पनि पानी वितरणमा विभेद गरेको भन्ने गुनासोलाई झुटो र निराधार भनेका छन् । उनले पर्सागढी नगरपालिकाको सहयोगमा ट्याङ्करमार्फत टोल-टोलमा पानी वितरण गरिरहेको बताए । “वडाको बजेटबाट चार ठाउँमा र खानेपानी मन्त्रालयलगायत अन्य निकायको सहयोगमा थप पाँच ठाउँमा डीप बोरिङमार्फत पानी वितरण भइरहेको छ,” कुर्मीले भने । उनले वडामा २० भन्दा बढी टोल रहेकाले पानीको समस्या पूर्ण समाधान गर्न कम्तीमा २५ डीप बोरिङ आवश्यक रहेको बताउँदै समाधानका लागि निरन्तर पहल गरिरहेको दाबी गरे ।
समस्याले वीरगञ्जका बासिन्दाहरूको दैनिक जीवनमा गम्भीर असर परिरहेको छ । खानेपानीको अभाव र वितरणमा भेदभावले स्थानीयवासीहरूमा आक्रोश बढ्दै गएको छ । महानगरपालिका र सम्बन्धित वडा कार्यालयहरूले गुनासोलाई गम्भीर रूपमा लिएर तत्काल समाधानको पहल गर्नु आवश्यक देखिएको छ ।