×

नेपालसँगको दुई मैत्रीपूर्ण खेलको लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली बुधबार काठमाडौं आएको छ।

बंगलादेशको टोली राति साढे ८ बजे त्रिभुवन विमानस्थलमार्फत् नेपाल आइपुगेको हो। नेपाली र बंगलादेशबीच यही भदौ २१ र २४ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछन्। 

दशरथ रंगशालामा २२ महिनापछि अन्तर्राष्ट्रिय फुटबल आयोजना हुन लागेको हो। नेपालले र बंगलादेशले भने सन् २०२२ पछि मैत्रीपूर्ण खेल्न लागेका हुन्। यसअघि बंगलादेशको नेपाल भ्रमण अनिश्चित रहे पनि उसले साफ गोल्डकप नखेल्ने निर्णय गरेर नेपालसँगको मैत्रीपूर्ण खेलका लागि स्वीकार गरेको छ। 

दुबै टोलीले मैत्रीपूर्ण खेलका लागि आफ्नो २३ सदस्सीय टोली घोषणा गरिसकेका छन्। इङ्लिस च्याम्पियनसिप क्लब लेस्टर सिटीका हम्जा चौधरी भने टिममा छैनन्। नेपाल र बंगलादेशबीच अहिलेसम्म २४ खेल भएका छन्। त्यसमा नेपालले बंगलादेशलाई १३ पटक हराएको छ भने तीन पटक बराबरी भएको छ।

बंगलादेशको टिममा छ गोल गरेका टोपू बरमन, पाँच गोल गरेका राकिब होसेन र चार गोल गरेका मोहम्मद इब्राहिम उत्कृष्ट खेलाडी हुन्। यी खेलाडीलाई प्रशिक्षक काब्रेराले विशेष स्थान दिएका छन्। 

२३ सदस्यीय अन्तिम टोलीमा जमल भुइया, फोयसल फहिम, तारिक काजी र सोहेल रानाजस्ता थप उत्कृष्ट खेलाडी रहेका छन्। यी खेलाडी बंगलादेशका लागि महत्वपूर्ण सावित हुँदै आएका छन्। ​

बंगलादेशका लागि पनि नेपालविरूद्धको भिडन्त महत्वपूर्ण छ किनभने उसले पनि एएफसी एसियन कपको छनोटका लागि तयारी गरिरहेको छ।

Back to top