×

वीरगञ्ज । नेपाल प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न एक अन्तरदेशीय गिरोहको जालो तोड्दै काठमाडौँदेखि भारतको बिहार राज्य अन्तर्गत मोतिहारीसम्म पुगेर नक्कली नोट छाप्ने मिनी फ्याक्ट्री नियन्त्रणमा लिन सफल भएको छ।

घटनाको सुरुआत पुस १५ गते मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले गोकर्णेश्वर नगरपालिका–८ स्थित अत्तरखेल चोकबाट एक हजार दरका ९३ थान नक्कली नेपाली नोटसहित छ जनालाई पक्राउ गरेसँगै भएको थियो। पक्राउ परेकामाथि गरिएको प्राविधिक अनुसन्धान तथा बयानका आधारमा नक्कली नोट कारोबारको तार बारा जिल्लासम्म जोडिएको खुलेको हो।

त्यसैक्रममा बारा प्रहरीले कलैया उपमहानगरपालिका–२ निवासी २८ वर्षीय गौरीशंकर यादवलाई नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानमा यादवले नक्कली नोट कारोबारको मुख्य नाइके बारा जिल्लाको फेटा गाउँपालिका–३ घर भई हाल भारतमा बसोबास गर्दै आएका २८ वर्षीय रविकुमार श्रीवास्तव रहेको खुलासा गरेका थिए।

अनुसन्धानका क्रममा श्रीवास्तव भारतीय नम्बर प्लेटको मोटरसाइकलमार्फत नेपाल आउँदै गर्दा पक्राउ परेको भन्ने चर्चा चले पनि प्रहरी उच्च स्रोतका अनुसार वास्तविकता फरक रहेको छ। अनुसन्धानबाट श्रीवास्तवले भारतको बिहार राज्य अन्तर्गत मोतिहारी जिल्लाको मुफस्सिल थाना क्षेत्रको लाला टोल (पटौना) मा कोठा भाडामा लिएर नक्कली नोट छाप्ने धन्दा सञ्चालन गरिरहेको पुष्टि भएको हो।

सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाराको विशेष टोलीले भारतीय प्रहरीसँग समन्वय गरी मोतिहारीस्थित श्रीवास्तवको डेरामा छापामारी गरेको थियो। छापामारीका क्रममा नक्कली नोट छाप्न प्रयोग हुने रङ्गिन प्रिन्टर एक थान, कम्प्युटर मोनिटर एक थानलगायतका उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ। साथै खानतलासीका क्रममा भारतीय रुपैयाँ ५०० दरका ३१७ थान नक्कली नोट पनि फेला परेको छ।

काठमाडौँबाट सुरु भएको अनुसन्धानले सीमापार हुँदै नेपाल र भारत दुवै देशमा नक्कली नोटको कारोबार फैलाउँदै आएको अन्तरदेशीय गिरोहको पर्दाफास गरेको हो। यद्यपि, अभियुक्तहरूलाई मुद्दा चलाउन काठमाडौँ लैजाने विषयमा प्रहरी प्रधान कार्यालयबाट हस्तक्षेप भएको भन्दै बारा प्रहरी नेतृत्व असन्तुष्ट रहेको चर्चा प्रहरी वृत्तमा छ।

जे भए पनि नेपाल प्रहरीको यस कारबाहीलाई नक्कली नोट कारोबारविरुद्धको महत्वपूर्ण सफलता मानिएको छ।

Back to top