×

वीरगञ्ज । वीरगञ्जसँग जोडिएको सीमावर्ती भारतीय सहर रक्सौलमा शनिवार बिहान भारतको आयकर विभागको टोलीले प्रमुख व्यवसायी मोहम्मद कलीमका विभिन्न व्यावसायिक प्रतिष्ठान तथा पैतृक आवासमा एकैसाथ ठुलो स्तरको छापामारी गरेको छ । आयकर विभाग, भारत सरकारका करिब दुई दर्जनभन्दा बढी सवारीसाधनसहित पुगेको टोलीले छुट्टाछुट्टै समूह बनाएर कारबाही सुरु गरेको बताइएको छ ।

घना कुहिरो र कडाकेको जाडोबिच बिहानै सुरु भएको छापामारीका कारण रक्सौल सहरमा हडकम्प मच्चिएको छ । अधिकांश मानिसहरू घरमै रहेका बेला आयकर विभागको टोलीले अचानक कारबाही थालेपछि स्थानीय बासिन्दा र व्यावसायिक समुदाय अचम्मित बनेका छन् ।

आयकर विभागको टोलीले आदापुर प्रखण्डअन्तर्गत विष्णुपुरवास्थित मोहम्मद कलीमको पैतृक घर, रक्सौल मुख्य सडकको पङ्कज चोक नजिक रहेको प्रतिष्ठान, तनिष्क ज्वेलरी शोरूम तथा लक्ष्मीपुरस्थित होन्डा शोरूममा एकैसाथ छापा मारेको हो । सबै स्थानलाई सुरक्षाकर्मीको घेरामा राखी कागजात जाँच, लेखा–जोखा परीक्षण तथा कर्मचारी र व्यवसायीसँग सोधपुछ सुरु गरिएको छ ।

स्थानीय स्रोतका अनुसार मोहम्मद कलीमसँग सम्बन्धित व्यक्तिहरू र नातेदारहरूमाथि पनि आयकर विभागको निगरानी रहेको छ । यसै क्रममा एक अल्ट्रासाउन्ड केन्द्र र एक्स–रे केन्द्रका सञ्चालकको प्रतिष्ठानमा समेत छापामारी गरिएको जानकारी प्राप्त भएको छ ।

पङ्कज चोकस्थित प्रतिष्ठान र तनिष्क शोरूममा अधिकारीहरूले कागजात र बहीखाता गहन रूपमा जाँच गरेका छन् भने लक्ष्मीपुरस्थित हिरो शोरूममा सम्पूर्ण शोरूमको निरीक्षण गरिएको छ । विष्णुपुरवास्थित पैतृक घरमा व्यक्तिगत तथा व्यावसायिक कागजातहरूको सूक्ष्म रूपमा छानबिन गरिएको जनाइएको छ । छापामारीका क्रममा कर्मचारी तथा परिवारका सदस्यहरूसँग समेत सोधपुछ गरिएको छ ।

अचानक भएको कारबाहीले सहरभर चर्चा र कौतुहलता बढेको छ । स्थानीय बासिन्दा तथा व्यवसायीहरूबिच छापामारीको कारण र यसको प्रभावबारे विभिन्न अड्कलबाजी हुन थालेको छ । यद्यपि, आयकर विभागका अधिकारीहरूले हालसम्म यस विषयमा कुनै आधिकारिक विवरण सार्वजनिक गरेका छैनन् ।

आयकर विभागका स्रोतका अनुसार छापामारी अझै जारी छ र कागजात जाँच तथा सोधपुछको प्रक्रिया चलिरहेको छ । यस कारबाहीबाट कति सम्पत्ति वा वित्तीय अनियमितता उजागर हुन्छ भन्नेबारे अहिले नै स्पष्ट नभएको बताइएको छ । विभागको कदमलाई कर नियम र वित्तीय अनुशासन पालनाको सन्देशका रूपमा पनि हेरिएको छ ।

व्यवसायी मोहम्मद कलीम पछिल्लो समय विशेष चर्चामा आएका थिए । करिब छ महिनाअघि रक्सौलमा खुलेको तनिष्क शोरूमको उद्घाटन कार्यक्रममा भोजपुरी अभिनेत्री काजल राघवानीको उपस्थिति भएपछि उनी चर्चाको केन्द्रमा आएका थिए ।

Back to top