×

वीरगञ्ज । वीरगञ्जसँग जोडिएको सीमावर्ती भारतीय सहर रक्सौलमा हिजो शनिवार आयकर विभागले इतिहासकै ठुलो छापा मार्दै चर्चित व्यवसायी मोहम्मद कलीमको घरसहित उनका विभिन्न व्यावसायिक प्रतिष्ठानहरूमा व्यापक कारबाही गरेको छ ।

छापाका क्रममा करोडौँ रुपैयाँको कारोबारसँग सम्बन्धित कागजात, बैंक खाता विवरण तथा लगानीसम्बन्धी महत्त्वपूर्ण अभिलेखहरू आयकर विभागले नियन्त्रणमा लिएको बुझिएको छ ।

शनिवार बिहानै आयकर विभागको संयुक्त टोलीले मोहम्मद कलीमको आदापुर प्रखण्डअन्तर्गत विष्णुपुरवास्थित पैतृक आवास, रक्सौल मुख्य मार्गको पङ्कज चौक आसपासका प्रतिष्ठान, लक्ष्मीपुरस्थित हीरो शोरूम तथा तनिष्क शोरूमलगायत करिब ७ स्थानमा एकैसाथ छापामारी गरेको थियो । स्रोतका अनुसार कुल १६ भन्दा बढी ठेगानामा विभागीय टोली पुगेको थियो ।

छापामारीका क्रममा करोडौँको टर्नओभर देखाउने कागजात, विभिन्न बैंक खाताको विवरण, लगानी र करसम्बन्धी फाइलहरू बरामद गरिएको आयकर स्रोतले जनाएको छ । यद्यपि नगद बरामदगी वा ठोस कर छलिको औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन ।

कारबाहीलाई निष्पक्ष र सुरक्षित बनाउन ५० भन्दा बढी प्रहरी तथा एसएसबीका जवान परिचालन गरिएको थियो । स्थानीय प्रहरी प्रशासनले पनि निरन्तर गस्ती गर्दै सुरक्षा व्यवस्थालाई कडा बनाएको थियो । एसपी स्वर्ण प्रभातको निर्देशनमा स्थानीय प्रहरी सक्रिय रहेको र डिएसपी मनीषले छापाको पुष्टि गरेका छन् ।

आयकर विभागका अधिकारीहरूले हाल नियन्त्रणमा लिइएका कागजात र वित्तीय विवरणहरूको सूक्ष्म जाँच भइरहेको र त्यसपछि मात्र थप कानुनी प्रक्रिया अगाडि बढाइने बताएका छन् । विभागीय वृत्तमा कारबाहीलाई ठुलो कर छल वा वित्तीय अनियमिततासँग जोडेर हेरिएको छ ।

घटनापछि रक्सौलको व्यापारिक क्षेत्रमा हलचल मच्चिएको छ भने व्यावसायिक समुदायमा कर अनुशासन र पारदर्शिताबारे व्यापक चर्चा सुरु भएको छ ।

Back to top