एआईको सहयोगबाट तयार पारिएको साङ्केतिक तस्बिर ।
वीरगञ्ज । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक माहोल तातेको छ। यही क्रममा पूर्वमन्त्री तथा उम्मेदवार प्रदीप यादवले आफ्नै निर्वाचन क्षेत्रमा युवाहरूको आक्रोश झेल्नुपरेको छ।
शनिबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवामा आयोजित नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रममा ‘जेन–जी’ युवाहरूले यादवको विगतको कार्यशैली, विकास निर्माणको अवस्था तथा जनप्रतिनिधिका रूपमा निर्वाह गरेको भूमिकाबारे प्रश्न उठाउन खोजेका थिए।
स्थानीय युवा चन्दन प्रजापतिका अनुसार युवाहरूले कार्यक्रमको सुरुवातमै प्रश्न गर्न चाहेका थिए। तर यादवले कार्यक्रमको अन्त्यमा जवाफ दिने बताएपछि युवाहरू असन्तुष्ट बनेका थिए। त्यसै क्रममा “केही काम नगर्ने झोले नेता मुर्दावाद” जस्ता नाराबाजी सुरु भएपछि कार्यक्रमस्थलको माहोल तनावग्रस्त बनेको थियो।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि सुरक्षाकर्मीले पूर्वमन्त्री यादवलाई कार्यक्रम स्थलबाट बाहिर निकालेका थिए। उक्त घटनासँग सम्बन्धित भिडियोहरू अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका छन्, जसमा युवाहरूले यादवविरुद्ध नाराबाजी गर्दै कडा असन्तुष्टि व्यक्त गरिरहेका देखिन्छन्।
यस विषयमा प्रतिक्रिया दिँदै पूर्वमन्त्री प्रदीप यादवले आफू जनताको प्रश्नबाट नभागेको दाबी गरेका छन्। उनले कार्यक्रमपछि युवाहरूसँग छलफल गर्ने योजना रहेको तर संयम नअपनाइँदा अप्रिय अवस्था सिर्जना भएको बताएका छन्।
“जनताको प्रश्न सुन्न म सधैं तयार छु, तर संवादका लागि उचित समय र वातावरण आवश्यक हुन्छ,” यादवले बताएका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार लामो समयदेखि एउटै नेतृत्व दोहोरिँदा अपेक्षित विकास नदेखिएको महसुस युवापुस्तामा बढ्दै गएको छ। सचेत युवाहरूले उठाएका यस्ता प्रश्न र विरोधले आगामी निर्वाचनमा प्रभाव पार्न सक्ने संकेत देखिएको उनीहरूको विश्लेषण छ।