वीरगञ्ज। पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी प्रवेशको विषयमा झुटो तथा भ्रामक प्रचार फैलाएको आरोप लागेको छ। स्थानीय तथा नेपाली कांग्रेसका नेताहरूले रास्वपाले चुनावी फाइदाका लागि अतिरञ्जित र असत्य दाबी गरेको बताएका छन्।
दुई दिनअघि ठोरीमा सम्पन्न रास्वपाको पार्टी प्रवेश कार्यक्रममा कांग्रेस गाउँपालिका सभापतिसहित विभिन्न दल परित्याग गरी ३५० जना रास्वपामा प्रवेश गरेको दाबी गरिएको थियो। तर उक्त दाबी पूर्ण रूपमा गलत र अफवाह मात्र रहेको कांग्रेस तथा स्थानीय स्रोतहरूले जनाएका छन्।
कांग्रेस पर्सा क्षेत्र नम्बर ४ का सभापति श्रीकान्त यादवका अनुसार ठोरीमा आयोजित कार्यक्रममा कांग्रेस ठोरी गाउँपालिका सभापति सन्तोष श्रेष्ठ मात्र पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेका हुन्। श्रेष्ठ बाहेक अन्य कुनै पनि कांग्रेस नेता वा कार्यकर्ताले पार्टी नछाडेको उनले स्पष्ट पारे। साथै, श्रेष्ठको प्रवेशले ठोरी कांग्रेसलाई कुनै किसिमको असर नपरेको पनि यादवले बताए।
कांग्रेसको आरोप अनुसार रास्वपा पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार टेकबहादुर शाक्यले निर्वाचनलाई लक्षित गर्दै ठूलो संख्यामा पार्टी प्रवेश भएको भन्दै झुटो प्रचार गरेका हुन्।
स्थानीय स्रोतका अनुसार उक्त कार्यक्रममा कुल ३५० जनाको उपस्थिति नै नभएकाले त्यति ठूलो संख्यामा पार्टी प्रवेश भएको दाबी विश्वासयोग्य नरहेको बताइएको छ। यसै कारण अन्य राजनीतिक दलहरूले रास्वपासँग ३५० जना पार्टी प्रवेश गरेको नामावली सार्वजनिक गर्न माग गरेका छन्।
यसअघि पनि रास्वपाले विभिन्न कार्यक्रममा सयौँको संख्यामा पार्टी प्रवेश भएको दाबी गर्दै आए पनि वास्तविक सहभागिता न्यून रहने गरेको आरोप लगाइएको छ। अन्य राजनीतिक दलहरूको भनाइमा आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी उम्मेदवार शाक्यले आफूलाई बलियो देखाउन मतदातामाझ भ्रम फैलाउँदै आएका छन्।