वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढ्दै जाँदा नेकपा एमालेकी उम्मेदवार रिमा यादवको चुनावी गतिविधि अपेक्षाकृत सुस्त देखिएको चर्चा राजनीतिक वृत्तमा हुन थालेको छ। अन्य प्रमुख दलहरूले प्रचार–प्रसारलाई तीव्र बनाइरहेका बेला एमाले उम्मेदवार यादव विस्तारै प्रतिस्पर्धामा पछाडि पर्न थालेको आकलन गरिएको छ।
सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसिया, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशील कानु, नेकपाका मनोज चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की बिना जैसवाल तथा जसपा नेपालका अशोक टेमानीसहित करिब ३० जना उम्मेदवार चुनावी मैदानमा छन्। मुख्य प्रतिस्पर्धा बहुपक्षीय देखिए पनि उम्मेदवारमध्ये शुशिल साह कानुले उल्लेख्य सक्रियता देखाइरहेको चर्चा छ।
एमालेभित्रकै केही नेताहरूका अनुसार अन्य दलको आक्रामक चुनावी अभियान, पार्टी प्रवेश कार्यक्रम तथा जनसंपर्क विस्तारका कारण यादव मतदातामाझ अपेक्षित रूपमा पुग्न नसकेको टिप्पणी गरिएको छ। घरदैलो तथा चुनावी कार्यक्रममा भएको खर्च र टोली व्यवस्थापनलाई लिएर पनि पार्टीभित्र असन्तुष्टि देखिएको बताइन्छ।
स्थानीय एमाले कार्यकर्ताहरूका अनुसार पार्टीका प्रभावशाली व्यक्तिहरूले उम्मेदवारलाई जिताउने जिम्मेवारी लिएको चर्चा भइरहे पनि त्यसले अपेक्षित परिणाम दिन नसकेको गुनासो छ। उम्मेदवारले रणनीति सुधार गरी मतदातासँग सघन सम्पर्क नबढाएमा चुनावी प्रतिस्पर्धामा कमजोर हुन सक्ने आकलन गरिएको छ।
पर्सा–२ मा बदलिँदो राजनीतिक समीकरण र मतदाताको मनोवृत्तिले यसपटकको निर्वाचनलाई अझ रोचक र प्रतिस्पर्धात्मक बनाएको छ।