वीरगञ्ज । वीरगञ्जमा ‘गोरखा वाच’ तथा गिफ्ट शपको नयाँ शो–रूम सञ्चालनमा आएको छ। वीरगञ्जस्थित स्काईमहल मा रहेको उक्त शो–रूमको उद्घाटन वीरगञ्ज महानगर पालिकाका नगर प्रमुख राजेशमान सिंह ले गरेका हुन्।
काठमाडौँपछि वीरगञ्जमा ‘गोरखा वाच’ को दोस्रो शो–रूम सञ्चालनमा आएको बताइएको छ। कार्यक्रममा बोल्दै वक्ताहरूले ‘गोरखा वाच’को गुणस्तर अन्तर्राष्ट्रिय स्तरको रहेको उल्लेख गरेका थिए। साथै सोही शो–रूममा विभिन्न आकर्षक चाँदीका सामग्री तथा विभिन्न प्रकारका गिफ्ट आइटमहरू पनि बिक्रीका लागि राखिएको जनाइएको छ।
जानकारी अनुसार सन् २०१५ मा बेलायतमा उत्पादन गरिएको उक्त घडी पहिलो चरणमा करिब दुई सय नेपाली गोरखाली सैनिकलाई सम्मानस्वरूप प्रदान गरिएको थियो। त्यसपछि सर्वसाधारणका लागि पनि बिक्री वितरण सुरु गरिएको हो।
आयोजकका अनुसार ‘गोरखा वाच’को गुणस्तर अन्तर्राष्ट्रिय स्तरका घडीसँग प्रतिस्पर्धा गर्न सक्ने खालको रहेको दाबी गरिएको छ।
उद्घाटन कार्यक्रममा उद्योगी–व्यवसायी रमेश अग्रवाल, सत्यनारायण क्याल तथा शो–रूमका सञ्चालक राजेश अग्रवाल लगायतको उपस्थिति रहेको थियो।