×

नयाँ दिल्ली । पश्चिम एसियामा बढ्दै गएको युद्धको डढेलो र तनावका बिच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक सार्वजनिक रूपमा मुख खोलेका छन्। लोकसभामा २५ मिनेट लामो विशेष सम्बोधन गर्दै मोदीले युद्धको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तनाव तत्काल अन्त्य हुनुपर्नेमा जोड दिएका हुन्। 

उनले संवाद र कूटनीतिबाटै समस्याको समाधान खोजिनुपर्ने बताउँदै नागरिक बस्ती र पावर प्लान्टहरूमा गरिने आक्रमण कुनै पनि हालतमा मञ्जुर नहुने स्पष्ट पारेका छन्। विशेषगरी विश्व व्यापारको महत्त्वपूर्ण मार्ग स्ट्रेट अफ होर्मुजमा अवरोध पुर्‍याउने कार्य भारतका लागि स्वीकार्य नहुने उनले कडा चेतावनी दिएका छन्।

प्रधानमन्त्री मोदीले युद्धका कारण भारतमा तेल र ग्यासको संकट आउन नदिन सरकारले विशेष रणनीति अपनाएको जानकारी दिएका छन्। पहिले २७ देशबाट मात्र पेट्रोलियम पदार्थ आयात गरिरहेको भारतले अहिले त्यसलाई बढाएर ४१ देश पुर्‍याएको छ। 

भारतसँग हाल ५३ लाख मेट्रिक टनभन्दा बढीको रणनीतिक पेट्रोलियम भण्डार सुरक्षित रहेको र यसलाई बढाएर ६५ लाख मेट्रिक टन पुर्‍याउने काम भइरहेको उनले बताए। विश्वव्यापी आपूर्ति शृङ्खलामा अवरोध आए पनि भारतीय किसानलाई सस्तो मूल्यमा मल उपलब्ध गराउन र ऊर्जा संकट टार्न सरकारले हरसम्भव प्रयास गरिरहेको उनको दाबी छ।

पश्चिम एसियामा रहेका करिब एक करोड भारतीयहरूको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको मोदीले उल्लेख गरेका छन्। युद्धग्रस्त क्षेत्रबाट अहिलेसम्म ३ लाख ७५ हजार भारतीयहरू सुरक्षित रूपमा स्वदेश फर्किसकेका छन्। जसमा इरानबाट मात्रै एक हजारभन्दा बढी नागरिक र ७ सयभन्दा बढी मेडिकल विद्यार्थीहरू रहेका छन्। 

भारतीय जहाजहरूको सुरक्षित आवागमनका लागि सरकारले आफ्ना सहयोगी राष्ट्रहरूसँग निरन्तर संवाद गरिरहेको र आयात-निर्यातमा आउने अवरोध हटाउन एउटा विशेष कार्यदलले दैनिक रूपमा काम गरिरहेको उनले जानकारी दिए।

आगामी गर्मी मौसममा बढ्ने बिजुलीको मागलाई मध्यनजर गर्दै पावर प्लान्टहरूमा कोइलाको पर्याप्त मौज्दात राखिएको र ऊर्जा क्षेत्रको सूक्ष्म निगरानी भइरहेको मोदीले बताए। पश्चिम एसिया विश्व अर्थतन्त्रको मेरुदण्ड र ऊर्जाको मुख्य स्रोत भएकाले त्यहाँको अशान्तिले विश्वलाई नै असर गर्ने उनको तर्क छ। 

मोदीले आफूले यसअघि नै पश्चिम एसियाका विभिन्न देशका प्रमुखहरूसँग कुराकानी गरिसकेको र सबै पक्षलाई शान्तिपूर्ण समाधानका लागि प्रोत्साहित गरिरहेको बताए। व्यावसायिक जहाजहरूमाथिको आक्रमणले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने भन्दै उनले भारत सधैँ शान्तिको पक्षमा उभिने स्पष्ट पारेका छन्।

Back to top