×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङ गृहमन्त्री बन्ने टुङ्गो लागेको छ । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसहितका नेताहरूबिच भएको छलफलले गुरुङलाई गृहमन्त्री बनाउने निर्णय गरेको हो ।

रास्वपा स्रोतका अनुसार गुरुङले आज शुक्रवार गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिन लागेका छन् । उनी गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

आजै रास्वपाका वरिष्ठ नेता तथा संसदीय दलका नेता समेत रहेका बालेन शाहले प्रधानमन्त्रीको पदको शपथ लिन लागेका छन् । उनी प्रधानमन्त्री नियुक्त भइसकेको बताइएको छ ।

सुदन गुरुङ जेनजी आन्दोलनका प्रमुख अगुवामध्ये एक हुन् । उनी ‘हामी नेपाल’ संस्थाका संस्थापक अध्यक्षसमेत रहेका छन् ।

गोरखा–१ बाट ठुलो मतान्तरले विजयी भएका गुरुङलाई पार्टीभित्र युवा तथा वैकल्पिक शक्तिको प्रतिनिधिका रूपमा हेरिन्छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले स्पष्ट बहुमत प्राप्त गरेको थियो । बालेन शाहको नेतृत्वमा सरकार गठन हुँदै गर्दा सुदन गुरुङलाई गृहमन्त्रीको जिम्मेवारी दिइएको हो ।

निर्णयले रास्वपाभित्रको युवा नेतृत्वलाई थप बल पुग्ने र जेनजी आन्दोलनको भावनालाई सरकारमा प्रतिबिम्बित गर्ने अपेक्षा गरिएको छ ।

Back to top