×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–६ का वडा अध्यक्ष तथा कार्यक्रम संयोजक जयप्रकाश शाहले हनुमान जन्मोत्सवलाई केवल धार्मिक अनुष्ठान नभई सांस्कृतिक पहिचान र सामूहिक आस्थाको उत्सवका रूपमा प्रस्तुत गरिएको बताएका छन्।

आगामी चैत्र १९ गते बिहीबार, वीरगञ्जको मेनरोडस्थित ऐतिहासिक श्री महावीर मन्दिरमा हनुमान जन्मोत्सव विशेष कार्यक्रमसहित मनाइनेछ। साँझ ६ बजे सामूहिक महाआरती गरिनेछ भने ७:३० बजे भक्तजनबीच प्रसाद वितरण हुने कार्यक्रम तय गरिएको छ।

हरेक वर्ष उल्लेख्य भीड लाग्ने यस मन्दिरमा यसपटक अझ धेरै संख्यामा श्रद्धालु आउने अनुमान गरिएको छ। भीड र सुरक्षालाई ध्यानमा राख्दै आयोजकले व्यवस्थापनलाई प्राथमिकतामा राखेर तयारी तीव्र बनाएको छ।

कार्यक्रम सफल बनाउन श्री महावीर मन्दिर समिति, साप्ताहिक सुन्दरकाण्ड प्रचार समिति, साप्ताहिक हनुमान चालिसा पाठ समिति, श्याम नवयुवक मण्डल, मारवाडी महिला मञ्च, रानी सती ज्योति मण्डललगायतका संघ–संस्थाहरू सक्रिय रूपमा जुटिरहेका छन्।

ट्राफिक व्यवस्थापनदेखि शान्ति–सुरक्षासम्मका विषयमा स्थानीय प्रशासनसँग समन्वय गरेर आवश्यक व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

कार्यक्रम संयोजक शाहका अनुसार यस्ता सामूहिक धार्मिक आयोजनाले वीरगञ्जको सांस्कृतिक जीवनलाई सुदृढ बनाउने मात्र होइन, धार्मिक पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Back to top