वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले श्रम मन्त्री दीपककुमार साहलाई जिम्मेवारीबाट हटाउन प्रधानमन्त्री बालेन शाहलाई सिफारिस पत्र पठाएका छन्।
सभापति लामिछानेले पठाएको पत्र अनुसार, मन्त्री साहले पदीय मर्यादाको दुरूपयोग गरी आफ्नी श्रीमतीलाई लामो समयदेखि निस्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डमा नियमित सदस्य बनाउने कार्य गरेको पार्टीको केन्द्रीय अनुसन्धान आयोगको अध्ययनबाट देखिएको उल्लेख गरिएको छ।
पत्रमा सभापति लामिछानेले मन्त्री साहलाई तत्काल जिम्मेवारीबाट अलग गर्नुपर्ने सिफारिस गरेका छन्। साथै, यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गम्भीरता नदेखिएको भन्दै स्वास्थ्य मन्त्री निशा मेहतालाई सचेत गराउन पनि सुझाव दिइएको छ।
रास्वपा सभापति लामिछानेको कदमले मन्त्रीहरूको कार्यप्रणाली, पारदर्शिता र जिम्मेवारीप्रतिको कडाइलाई चर्चा र चासोको केन्द्रमा ल्याएको छ।