वीरगञ्ज । महन्थ ठाकुर ले मधेस क्षेत्रमा भइरहेको चुरे तथा भावर क्षेत्रको अनियन्त्रित दोहनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसले मधेसमा ठूलो पर्यावरणीय र मानवीय संकट निम्त्याएको बताएका छन्।
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सोमवार बसेको बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष ठाकुरले विकासका नाममा प्राकृतिक स्रोतको अत्यधिक दोहन भइरहेको आरोप लगाए। उनले चुरे क्षेत्रको विनाशले वर्षायाममा उत्तरतर्फ कटान र दक्षिणतर्फ डुबानको समस्या भयावह बन्दै गएको बताए।
उनका अनुसार चुरे र भावर क्षेत्रबाट अनियन्त्रित रूपमा ढुंगा, गिट्टी तथा बालुवा उत्खनन हुँदा प्राकृतिक सन्तुलन बिग्रिएको छ। यसको प्रत्यक्ष असर मधेसका जिल्लामा देखिन थालेको उल्लेख गर्दै उनले वर्षेनी हजारौँ नागरिक डुबान र कटानको जोखिममा पर्न बाध्य भएको बताए।
अध्यक्ष ठाकुरले महिनौँसम्म बस्तीहरू डुबानमा पर्दा पनि राज्यका सम्बन्धित निकायले प्रभावकारी रूपमा ध्यान नदिएको भन्दै असन्तुष्टि जनाए। उनले सरकारको उदासीनताका कारण स्थानीय बासिन्दाले निरन्तर दुःख पाउनुपरेको टिप्पणी गरे।
उनले वातावरणीय चेतनाको अभाव तथा प्राकृतिक विनाशका कारण ग्रामीण क्षेत्रमा रहेका विद्यालयहरू समेत प्रभावित भएको बताए। कतिपय विद्यालय विद्यार्थी अभाव र असुरक्षित वातावरणका कारण बन्द हुने अवस्थामा पुगेको उनको भनाइ थियो।
बैठकमा अध्यक्ष ठाकुरले बजेट विनियोजन र कार्यान्वयन प्रक्रियामाथि समेत प्रश्न उठाए। उनले बजेट पारदर्शी र प्रभावकारी रूपमा खर्च नभएको आरोप लगाउँदै विकास योजनाहरू कागजमै सीमित हुने गरेको बताए।
“विकासका कुरा धेरै हुन्छन्, तर व्यवहारमा जनताले राहत होइन, झन् समस्या भोगिरहेका छन्,” ठाकुरले भने।
उनले मधेसको दीगो विकासका लागि चुरे संरक्षण, वैज्ञानिक ढंगले प्राकृतिक स्रोतको व्यवस्थापन तथा पारदर्शी बजेट कार्यान्वयन आवश्यक रहेकोमा जोड दिए।