वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ उन्मुख भइरहेको टिप्पणी गरेका छन् ।
बुधबार हिमालयन टेलिभिजनमा प्रसारित एक अन्तर्वार्ताका क्रममा सांसद सिंहले संसद्लाई छलेर शासन सञ्चालन गर्ने र विधिको शासनलाई बेवास्ता गर्ने प्रवृत्तिले लोकतन्त्र कमजोर बन्दै गएको दाबी गरे । उनले नेपालमा ‘पुलिस स्टेट’ हाबी हुन खोजेको उल्लेख गर्दै पाकिस्तानमा जस्तै संसद्लाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाए ।
पछिल्लो समय व्यवसायीहरूलाई पर्याप्त कानुनी आधारबिना पक्राउ गर्ने र भोलिपल्टै रिहा गर्ने प्रवृत्तिले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको उनको भनाइ थियो । “विधिको शासन मिचेर व्यापारीहरूलाई थुन्ने काम भइरहेको छ, यसले लगानीकर्तामा डर पैदा गरेको छ,” उनले भने, “यही कारण नेपालको अर्बौं रुपैयाँ विदेश पलायन भइसकेको छ ।”
सांसद सिंहले नेपालको राजनीतिक इतिहासमा दुई तिहाइ तथा बहुमतका सरकारहरू सफल हुन नसकेको उदाहरण दिँदै वर्तमान सरकार पनि पूर्ण कार्यकाल टिक्नेमा आशंका व्यक्त गरे । सत्ताको उन्मादका कारण संविधान र लोकतान्त्रिक परम्परामाथि प्रहार भइरहेको उनको आरोप थियो ।
छिमेकी मुलुकसँगको सम्बन्धबारे बोल्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारको पालाभन्दा अहिले भारत र चीनसँगको भू–राजनीतिक सन्तुलन कमजोर भएको दाबी गरे । साथै उनले मधेसका समस्याप्रति सरकार असंवेदनशील बनेको आरोप लगाउँदै मधेसबाट प्रतिनिधित्व गर्ने नेतृत्वले समेत सीमा क्षेत्रका जनताको पीडा बुझ्न नसकेको बताए ।
सुकुमवासी बस्ती हटाउने सरकारी कदमको विरोध गर्दै सिंहले उचित विकल्प र व्यवस्थापनबिना संरचना भत्काउनु गलत भएको धारणा राखे । उनले वर्तमान राजनीतिक अन्योल र संवैधानिक संकटका कारण आगामी स्थानीय तह निर्वाचनसम्म अहिलेको संविधान कायम रहन्छ कि रहँदैन भन्नेमा समेत गम्भीर आशंका व्यक्त गरे ।