जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले उपमेयरलाई बेवास्ता गर्दै वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएपछि विवाद उत्पन्न भएको छ ।
मेयर साहले उपमेयर किशोरी साहलाई जिम्मेवारी नदिई वडा नम्बर ९ का वडाध्यक्ष परमेश्वर साहलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् ।
साहको निर्णयलाई लिएर अहिले जनकपुरधाममा राजनीतिक तथा कानुनी बहस सुरु भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार मेयर वा प्रमुख सात दिनभन्दा बढी समय पालिकाभन्दा बाहिर रहने अवस्थामा उपमेयर वा उपप्रमुखलाई कार्यभार दिनुपर्ने व्यवस्था छ । उपमेयर पनि अनुपस्थित भएमा मात्रै कार्यपालिका सदस्य वा अन्य सदस्यलाई जिम्मेवारी दिन सकिने कानुनी व्यवस्था रहेको छ ।
तर मेयर साहले उपमेयर किशोरी साह जनकपुरधाममै सक्रिय रहँदा पनि उनलाई कार्यवाहकको जिम्मेवारी नदिई वडाध्यक्ष परमेश्वर साहलाई जिम्मेवारी दिएपछि निर्णयमाथि प्रश्न उठेको हो ।
निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका मेयर मनोजकुमार साह पछि नेपाली काँग्रेसमा आबद्ध भएका थिए । उपमेयर किशोरी साह भने काँग्रेसका आधिकारिक उम्मेदवारका रूपमा निर्वाचित भएकी हुन् । कार्यवाहकको जिम्मेवारी पाएका वडाध्यक्ष परमेश्वर साह पनि काँग्रेसबाटै निर्वाचित जनप्रतिनिधि हुन् ।
एउटै दलसँग आबद्ध रहे पनि मेयर र उपमेयरबिचको सम्बन्धमा विवाद सतहमा आएको भन्दै काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले टिप्पणी गर्न थालेका छन् ।
उपमेयर किशोरी साहले आफूलाई कार्यवाहक मेयरको जिम्मेवारी नदिइएको विषयमा आश्चर्य व्यक्त गर्दै भनिन्, “म जनकपुरधाममै विभिन्न कार्यक्रममा सहभागी भइरहेकी छु । मलाई किन जिम्मेवारी दिइएन भन्नेबारे कुनै जानकारी छैन । उहाँहरूको यस्तै सोच छ भने अब के गर्ने ? म यस विषयमा लडाइँ गर्न चाहन्नँ ।”
मेयर साहको निर्णय कानुनसम्मत हो वा होइन भन्ने विषयमा अहिले जनकपुरधाममा व्यापक चर्चा भइरहेको छ ।