वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत जगरनाथपुर, जिराभवानी र कालिकामाई गाउँपालिकामा गाउँपालिका स्तरीय भेला भव्य रूपमा सम्पन्न गरेको छ ।
शनिवार सम्पन्न जगरनाथपुर गाउँपालिका स्तरीय प्रथम भेलाले परशुराम साहको नेतृत्वमा ११ सदस्यीय गाउँपालिका समिति गठन गरेको छ । नवगठित समितिको सभापतिमा परशुराम साह, उपसभापतिमा नुर आलम राउत गद्दी तथा सचिवमा धन्नजय प्रसाद यादव चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा रिता देवी, सुनिल प्रसाद यादव, मोहम्मद हविल गद्दी, हरिकिशोर मुखिया बिन, रामबाबु प्रसाद चौहान, सुनिल कुमार चौरसिया, अनिता कुमारी र सोनामती देवी चयन भएका छन् ।
भेला रास्वपा पर्सा क्षेत्र नम्बर ४ का सभापति जितेन्द्र मिश्रको सभापतित्व तथा मधेस प्रदेश सभापति ई. तपेश्वर यादवको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला सभापति तथा पर्सा – १ का सांसद हरि पन्त, उपसभापति तुलसा पौडेल अधिकारीलगायत स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न वडा समितिका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
यसैगरी, रास्वपा पर्सा जिल्लाद्वारा आयोजित “प्रथम ऐतिहासिक जिराभवानी गाउँपालिका भेला” पनि भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा मधेस प्रदेश सभापति तथा सिराहा–४ का सांसद तपेश्वर यादव, सांसद पन्त, पर्सा–४ का सांसद टेकबहादुर शाक्य तथा सिराहा–३ का सांसद डा. शम्भु यादवको विशेष उपस्थिति रहेको थियो ।
भेलामा पार्टी सङ्गठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा मधेस प्रदेशको समग्र विकासका विषयमा महत्त्वपूर्ण छलफल भएको जनाइएको छ ।
रास्वपा पर्साले “प्रथम ऐतिहासिक कालिकामाई गाउँपालिका भेला” समेत भव्य रूपमा सम्पन्न गरेको जनाएको छ । कार्यक्रममा मधेस प्रदेश सभापति तपेश्वर यादव, सांसद पन्त, शाक्य र सिराहा–३ का सांसद डा. यादवको उपस्थिति रहेको थियो ।
भेलामा सङ्गठन विस्तार, स्थानीय तहमा पार्टी सशक्तीकरण र मधेशको विकासलाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
रास्वपाले पर्सा जिल्लामा गाउँपालिका तहसम्म सङ्गठन विस्तारलाई तीव्रता दिँदै जनसम्पर्क अभियानलाई अझ प्रभावकारी बनाउने जनाएको छ ।