×

फाईल फोटो

वीरगञ्ज । दुर्गा प्रसाईं विरुद्ध सरकारी वकिल कार्यालयले सोमबार पर्सा जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन, २०६३ तथा राज्यविरुद्धको कसुर अन्तर्गत मुद्दा दायर गरेको छ ।

जेठ ४ गते वीरगञ्जस्थित दियालो होटल बाट पक्राउ परेका प्रसाईंलाई सोमबार अदालतमा उपस्थित गराइएको थियो । अदालत परिसर बाहिर उनका समर्थकहरूले नाराबाजीसमेत गरेका थिए ।

सरकारी वकिल कार्यालयले प्रसाईंका विभिन्न युट्युब अन्तर्वार्ता तथा सार्वजनिक अभिव्यक्तिलाई मुद्दाको मुख्य आधार बनाएको जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) र स्थानीय सुरक्षा संयन्त्रको अनुसन्धानका आधारमा अभियोग पत्र दायर गरिएको बताइएको छ ।

अनुसन्धान अधिकृतहरूका अनुसार प्रसाईंले विभिन्न युट्युब च्यानलमार्फत महिलामाथि लक्षित अपमानजनक अभिव्यक्ति दिएको, साथै नेपाली सेना र नेपाल प्रहरी को साख गिराउने किसिमका अश्लील तथा अमर्यादित टिप्पणी गरेको आरोप लगाइएको छ ।

अभियोग पत्रमा दानबहादुर कार्की ले सार्वजनिक गरेको गीतलाई लिएर पनि प्रसाईंले सार्वजनिक मञ्चबाट अशोभनीय टिप्पणी गरेको उल्लेख गरिएको छ ।

त्यस्तै, प्रसाईंले एक अन्तर्वार्तामा बालेन्द्र शाह, रवि लामिछाने, कुलमान घिसिङ तथा हर्क साम्पाङ लाई एउटै ‘अदृश्य टिम’ ले सञ्चालन गरिरहेको दाबी गरेका थिए ।

सरकारी वकिलको दाबीअनुसार हिन्दुराष्ट्र र राजतन्त्र पुनर्स्थापनासम्बन्धी प्रसाईंका अभिव्यक्ति तथा सुरक्षा निकायमाथिका टिप्पणीले मुलुकको शान्ति, सुरक्षा र सार्वभौमिकतामाथि प्रतिकूल असर पार्ने अवस्था सिर्जना गरेको ठहर गरिएको छ ।

यस मुद्दाको सुनुवाइ र फैसलाले नेपालमा अभिव्यक्ति स्वतन्त्रता र डिजिटल माध्यमको प्रयोगको सीमाबारे थप बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

Back to top