×

वीरगञ्ज । भारतको हरिद्वारस्थित गायत्री परिवारद्वारा सञ्चालित वेदमाता गायत्री शक्तिपीठको ११ सदस्यीय वीरगञ्ज महानगर कार्यसमिति गठन गरिएको छ। धार्मिक, नैतिक तथा सामाजिक जागरणका कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नयाँ समिति चयन गरिएको हो।

नवगठित समितिको अध्यक्षमा प्रदीप कुमार केडिया चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा छोटेलाल ठाकुर, महासचिवमा प्रमोद कुमार सर्राफ, कोषाध्यक्षमा बिन्जु गुप्ता तथा सदस्यहरूमा वैजुलाल स्वर्णकार, अनिल दासलगायत रहेका छन्।

हरिद्वारबाट आएका गायत्री परिवारका प्रतिनिधि योइन्द्र सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागीहरूले गायत्री मन्त्र, यज्ञ तथा आध्यात्मिक साधनाका माध्यमबाट समाज रूपान्तरणमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

महासचिव प्रमोद कुमार सर्राफले नवगठित समितिले वीरगञ्ज महानगर क्षेत्रमा धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने लक्ष्य लिएको बताए। उनका अनुसार गायत्री परिवारले मानव कल्याण, नैतिक शिक्षा, महिला सशक्तीकरण, युवामा संस्कार विकास तथा वातावरण संरक्षणका क्षेत्रमा निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको छ।

वेदमाता गायत्री शक्तिपीठले नियमित रूपमा यज्ञ, ध्यान–साधना, आध्यात्मिक प्रशिक्षण, संस्कार वर्ग, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, वृक्षारोपण, सरसफाइ अभियानलगायत समाजसेवामूलक गतिविधि सञ्चालन गर्दै आएको छ। साथै नैतिक शिक्षा र सदाचार प्रवर्द्धनका लागि विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम पनि गर्दै आएको जनाइएको छ।

नवनिर्वाचित अध्यक्ष प्रदीप कुमार केडियाले आफूलाई प्रदान गरिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै गायत्री परिवारको मूल उद्देश्य व्यक्ति, परिवार र समाजको सकारात्मक रूपान्तरण रहेको बताए। उनले वीरगञ्जमा आध्यात्मिक चेतना अभिवृद्धिसँगै सामाजिक सेवामूलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने जानकारी दिए।

केडियाले आगामी दिनमा युवालाई नैतिक मार्गदर्शन दिने तालिम, महिलाका लागि सशक्तीकरण कार्यक्रम तथा वातावरण संरक्षणसम्बन्धी अभियानलाई विशेष प्राथमिकता दिइने बताए। धार्मिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नु संस्थाको प्रमुख दायित्व रहेको उल्लेख गर्दै उनले सबैको सहकार्यमा शक्तिपीठका गतिविधि विस्तार गरिने बताए।

समितिले निकट भविष्यमा वार्षिक कार्ययोजना सार्वजनिक गर्दै विभिन्न रचनात्मक तथा समाज उपयोगी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

कार्यक्रममा वीरगञ्जका पूर्व मेयर विजय कुमार सरावगी, संस्थाका पूर्व अध्यक्ष अशोक वैध, संस्थापक संयोजक राजेश्वर प्रसादलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

Back to top