वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीका पाँच थान साइकलसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२४ रामगढवा निवासी २६ वर्षीय लाल मोहम्मद अन्सारी रहेका छन् । उनलाई चोरीमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गत जेठ १३ गते दिउँसो करिब ४ बजे वीरगञ्ज महानगरपालिका–१५ स्थित एनएमसी परिसरबाट बाराको प्रसौनी गाउँपालिका–५ प्रस्टोका निवासी २२ वर्षीय विशाल साहको साइकल चोरी भएको थियो ।
साइकल पार्किङ गरी राखिएको स्थानबाट हराएपछि साहले खोजतलास तथा आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुरमा निवेदन दिएका थिए ।
निवेदन प्राप्त भएपछि प्रहरी टोलीले घटनाको अनुसन्धान सुरु गर्दै उक्त क्षेत्रका सिसिटिभी फुटेजको अध्ययन तथा प्राविधिक विश्लेषण गरेको थियो । सोही क्रममा जेठ १६ गते राति करिब १०:३० बजे चोरीमा संलग्न रहेको आशङ्कामा अन्सारीलाई फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउका क्रममा अन्सारीको साथबाट विशाल साहको चोरी भएको साइकलसहित विभिन्न स्थानबाट चोरी गरिएका थप चार थान साइकल बरामद गरिएको छ । यसरी कुल पाँच थान साइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।
प्रहरीले साइकलसहित पक्राउ परेका अन्सारीमाथि चोरी सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जनाएको छ । हाल उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।