×

वीरगञ्ज । सामाजिक संस्था उपकार सेवा नेपालले आफ्नो नियमित सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पर्साको ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रमलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ।

आश्रममा आश्रित १८ जना अपाङ्ग, सुस्त मनस्थितिका व्यक्ति, वृद्धवृद्धा तथा बालबालिकाको आवश्यकतालाई मध्यनजर गर्दै संस्थाले विभिन्न खाद्यान्न तथा जिन्सी सामग्री उपलब्ध गराएको हो। सहयोगस्वरूप ३०–३० किलोका दुई बोरा चामल, एक बोरा पिठो, एक बोरा सोयाबिन, १० किलो दाल, ४ लिटर खानेतेल, ५ किलो नुन, सर्फ, लुगा धुने साबुन, नुहाउने साबुन, धनियाँ, खुर्सानीलगायतका दैनिक आवश्यक सामग्री प्रदान गरिएको जनाइएको छ।

आयोजित एक कार्यक्रमबीच उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारुले आश्रमका सदस्यहरू युहन्न गुरुङ, ममता गुरुङ र बिमाया थापालाई उक्त सामग्री हस्तान्तरण गरेका थिए।

उपकार सेवा नेपालले विगतदेखि नै आश्रमलाई प्रत्येक महिना खाद्यान्न तथा अन्य आवश्यक जिन्सी सामग्री सहयोग गर्दै आएको जनाएको छ। संस्थाका अनुसार यस्ता सहयोगात्मक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।

संस्थाले आश्रममा आश्रित वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाको दैनिक जीवन सहज बनाउन सहयोग पुर्‍याउने उद्देश्यले नियमित रूपमा सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

स्थानीय स्तरमा सामाजिक उत्तरदायित्वका यस्ता कार्यले आश्रममा आश्रित व्यक्तिहरूको जीवनयापनमा सकारात्मक सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Back to top