×

वीरगञ्ज । विश्व साइकल दिवसको अवसरमा वीरगञ्जमा भव्य साइकल र्‍याली सम्पन्न भएको छ। भारतीय महावाणिज्य दूतावासको आयोजना तथा वीरगञ्ज साइकल क्लबको संयुक्त तत्वावधानमा आयोजित र्‍यालीमा विभिन्न संघसंस्था तथा क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो।

महावाणिज्य दूतावास परिसरबाट सुरु भएको साइकल र्‍याली नेपाल–भारत सीमा क्षेत्रस्थित शंकराचार्य गेट हुँदै वीरगञ्ज नगरका विभिन्न भागको परिक्रमा गर्दै सम्पन्न भएको वीरगञ्ज साइकल क्लबका प्रतिनिधि संजय अग्रवालले जानकारी दिए।

र्‍यालीमा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मिना, विभिन्न सामाजिक तथा खेलकुद संघसंस्थाका प्रतिनिधि, साइकलप्रेमी तथा वीरगञ्जका विभिन्न क्लबका सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका सहभागीहरूले साइकल प्रयोगलाई प्रोत्साहन गर्दै स्वस्थ जीवनशैली, वातावरण संरक्षण तथा प्रदूषण न्यूनीकरणका लागि साइकलको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले र्‍याली आयोजना गरिएको बताएका थिए।

आयोजकका अनुसार विश्व साइकल दिवसले दिगो यातायात, शारीरिक स्वास्थ्य प्रवर्द्धन तथा वातावरणमैत्री जीवनशैली अपनाउन प्रेरित गर्ने भएकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।

Back to top