×

वीरगञ्ज । वीरगञ्जस्थित अलखिया मन्दिर नजिक रहेको बाल पार्क मर्मतसम्भारको अभावमा दिनप्रतिदिन जीर्ण बन्दै गएको छ। बालबालिका तथा सर्वसाधारणको मनोरञ्जनका लागि निर्माण गरिएको पार्कको अवस्था खस्किँदै जाँदा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।

निःशुल्क प्रवेशको व्यवस्था भए पनि प्रभावकारी निगरानीको अभाव, दण्डहीनता, सार्वजनिक सम्पत्तिप्रतिको कमजोर नागरिक चेतना (सिभिक सेन्स) तथा आवश्यक मानव स्रोतको कमीका कारण पार्कको भौतिक संरचना र सरसफाइ प्रभावित भएको स्थानीयहरूको भनाइ छ।

पार्कभित्र रहेका विभिन्न संरचना, खेल सामग्री तथा वातावरणको नियमित संरक्षण र मर्मत नहुँदा यसको आकर्षण घट्दै गएको देखिन्छ। स्थानीयवासीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै पार्कको संरक्षण र व्यवस्थापनमा प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

पार्कको दीर्घकालीन संरक्षणका लागि घडिअर्वा पोखरीमा जस्तै न्यून शुल्कसहितको प्रवेश व्यवस्था गर्ने वा निःशुल्क प्रवेशलाई नै व्यवस्थित बनाउने विषयमा बहस आवश्यक रहेको सरोकारवालाहरूको धारणा छ।

स्थानीयहरूका अनुसार समयमै आवश्यक मर्मतसम्भार र व्यवस्थापनमा ध्यान नदिइए पार्कको अवस्था अझै बिग्रिन सक्ने भएकाले सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने आवश्यकता देखिएको छ।

Back to top