×

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले करिब दुई वर्षदेखि तलब नपाएको भन्दै थालेको आन्दोलन थप चर्किएको छ। आफ्ना माग सम्बोधन नभएको भन्दै कर्मचारीहरूले नगरपालिका कार्यालयमा तालाबन्दीसमेत गरेका छन्।

कर्मचारीहरूका अनुसार गत जेठ ११ गतेदेखि सुरु भएको आन्दोलनअन्तर्गत प्रारम्भमा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पन्तको कार्यकक्षबाहेक अन्य सबै शाखामा तालाबन्दी गरिएको थियो। तर समस्या समाधानका लागि कुनै ठोस पहल नभएको भन्दै उनीहरूले सोमबारदेखि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा समेत तालाबन्दी गरेका हुन्।

आन्दोलनरत कर्मचारी मुकुन्द यादवले लामो समयदेखि तलब नपाउँदा कर्मचारीहरू आर्थिक तथा मानसिक तनावमा परेको बताए। उनका अनुसार पटक–पटक आवाज उठाउँदा नगरपालिकाले एक–दुई महिनाको तलब मात्रै उपलब्ध गराउने गरे पनि मूल समस्या समाधान हुन सकेको छैन।

त्यसैगरी कर्मचारी रामानन्द पासवानले नियमित पारिश्रमिक नपाउँदा दैनिक जीवन सञ्चालन गर्न समेत कठिन भएको गुनासो गरे। उनले कर्मचारीहरूको जायज मागप्रति नगरपालिका प्रशासनले बेवास्ता गरेको आरोप लगाए।

यसैबीच कटहरिया नगरपालिका–२ हथियाही निवासी कार्यालय सहयोगी श्रीराउत बरै हाल क्यान्सर रोगसँग संघर्ष गरिरहेका छन्। उनी विगत डेढ महिनादेखि भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत रहेको जनाइएको छ। परिवारका अनुसार नगरपालिकाबाट करिब २० महिनाको तलब नपाउँदा उपचार खर्च व्यवस्थापन गर्न गम्भीर समस्या उत्पन्न भएको छ।

समाजसेवी विनोदलाल कर्णले बिरामी कर्मचारी एकातिर रोगसँग लडिरहेको र अर्कोतर्फ आर्थिक अभावका कारण परिवार थप पीडामा परेको बताए। उनका अनुसार उपचार, औषधि, अस्पताल बसाइ तथा आवतजावत खर्च जुटाउन परिवारलाई निकै कठिन भइरहेको छ।

हाल बरैको उपचार तथा हेरचाहको जिम्मेवारी उनका ज्वाइँ महेन्द्र प्रसाद चौरसियाले सम्हालिरहेका छन्।

कर्मचारीहरूको आन्दोलनका कारण नगरपालिकाको दैनिक प्रशासनिक सेवा प्रभावित बनेको छ। आन्दोलनरत कर्मचारीहरूले बक्यौता तलब भुक्तानी तथा अन्य समस्याको समाधान नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

लामो समयदेखि तलब नपाउँदा कर्मचारीहरूको जीवनयापन, स्वास्थ्य उपचार तथा पारिवारिक व्यवस्थापनमा गम्भीर असर परेको भन्दै उनीहरूले सम्बन्धित निकायसँग तत्काल समस्या समाधान गर्न माग गरेका छन्।

Back to top