वीरगञ्ज । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर ६ घण्टा प्रहरी हिरासतमा रहेपछि रिहा भएका छन् । उनलाई मोबाइल फोनको अनुचित प्रयोग नगर्ने सर्तमा पत्नी आभा श्रेष्ठको जिम्मा जमानीमा शुक्रवार राति छाडिएको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पुष्करलाई कपनस्थित निवासबाट पक्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार उच्च पदस्थ व्यक्तिलाई पदीय मर्यादा विपरीत अमर्यादित भाषामा एसएमएस पठाएको आरोपमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । करिब ७ घण्टा हिरासतमा राखी बयान लिएपछि रिहा गरिएको जनाइएको छ ।
स्रोतका अनुसार पुष्करले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटघाटका लागि समय नपाएपछि उनको निजी नम्बरमा सन्देश पठाएका थिए । मुख्यसचिव बन्ने दौडका क्रममा उनले प्रधानमन्त्रीलाई सीधै म्यासेज गरेको र प्रयोग गरिएको भाषा कर्मचारीको मर्यादा विपरीत भएको दाबी प्रहरीको छ ।
तर, प्रहरीलाई दिएको बयानमा पुष्करले अशिष्ट भाषा प्रयोग नगरेको दाबी गरेका छन् । प्रधानमन्त्री कार्यालय र निजी सचिवालयमार्फत भेट्ने समय नपाएपछि बाध्य भएर सन्देश पठाएको उनको भनाइ छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार प्रधानमन्त्रीको सचिवालयकै आग्रहमा भविष्यमा यस्ता कार्य नगर्ने सर्तमा उनलाई रिहा गरिएको हो ।
पुष्कर असार २४ गते सचिव पदको पाँच वर्षे कार्यकाल पूरा गरी अवकाश हुँदै छन् । उनी अवकाश हुनुअघि नै मुख्यसचिव बन्नुपर्ने माग राख्दै आएका थिए । वर्तमान मुख्यसचिव सुमनराज अर्याल भने पुष्कर अवकाश भएपछिको केही दिनमै सेवानिवृत्त हुनेछन् ।
पुष्करकी पत्नी आभा श्रेष्ठ नेपाल सरकारकी सहसचिव हुन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।