×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१२ मुर्ली बगैँचामा अवस्थित यूथ केयर फाउन्डेसन कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेको आरोप लागेको छ । स्थानीय स्रोतहरूका अनुसार करिब तीन वर्षदेखि सञ्चालनमा रहेको उक्त संस्थाले आवश्यक अनुमति तथा कागजातबिना गतिविधि सञ्चालन गर्दै आएको पाइएको हो ।

स्रोतका अनुसार संस्थाका सञ्चालक वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी प्रजवलराज सिंहविरुद्ध मुद्दा दर्ता भएको र त्यसयता उनी सम्पर्कविहीन रहेका छन् । प्रहरीले उनलाई खोजतलास जारी राखे पनि उनी पक्राउ पर्न सकेका छैनन् । यद्यपि उनी वीरगञ्ज मै लुकेर बसेको स्रोतको दाबी समेत छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले विभिन्न समयमा संस्थाका सञ्चालकलाई आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिए पनि सिंहले निर्देशनको पालना नगरेको आरोप समेत लागेको छ ।

त्यस्तै, यूथ केयर फाउन्डेसनको केन्द्रीय कार्यालयले समेत मुर्ली बगैँचास्थित शाखा बन्द गर्न सूचना जारी गरेको छ । केन्द्रीय कार्यालयका अनुसार वीरगञ्जमा रहेको कार्यालयले आफूहरूको नामलाई दुरुपयोग गर्दै अवैध तरिकाले सुधार केन्द्र चलाइरहेको छ । तर उक्त शाखाले सो निर्देशन कार्यान्वयन नगरी गतिविधि जारी राखेको छ ।

हाल संस्थामा करिब ३० जना विद्यार्थी बसोबास तथा अध्ययनरत रहेको बताइएको छ । स्थानीयवासीहरूले संस्थाको कानुनी हैसियत, सञ्चालन अनुमति तथा आवश्यक कागजातबारे सम्बन्धित निकायले यथाशीघ्र छानबिन गरी स्पष्टता ल्याउनुपर्ने माग गरेका छन् ।

यस विषयमा जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगञ्ज महानगरपालिका तथा संस्थाका सञ्चालकको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन ।

स्थानीयवासीहरूले नियमनकारी निकायले आवश्यक कदम नचालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले संस्थाको सञ्चालन प्रक्रियाबारे पारदर्शी छानबिन र आवश्यक कारबाहीको माग गरेका छन् ।

Back to top