बारा । "लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२६" को अवसरमा बारा जिल्लामा सञ्चालन गरिएको सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय बाराको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय बारा र सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण मुख्यालय बाराको समन्वय एवं सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो। निमित्त प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईको संयोजकत्वमा आयोजित कार्यक्रमअन्तर्गत बिहान कलैया बजार क्षेत्रमा प्रभातफेरी निकालिएको थियो।
प्रभातफेरीपछि जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित समापन कार्यक्रममा लागुऔषध दुरुपयोग नियन्त्रण, रोकथाम तथा जनचेतना अभिवृद्धिसम्बन्धी अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिल्वाल, राष्ट्रिय अनुसन्धान कार्यालय बाराका प्रमुख उपअनुसन्धान निर्देशक सरोज निरौला, प्रहरी नायब उपरीक्षक मिनबहादुर घले, प्रहरी कर्मचारी, मनकामना कलेजका प्राचार्य रामबाबु कुशवाहा, शिक्षक, विद्यार्थी, बाल क्लब तथा बाल सञ्जालका पदाधिकारी, बुद्धिजीवी, भद्रभलादमी, सुधार केन्द्रका प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिसहित करिब १५० जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै समुदाय, परिवार, शैक्षिक संस्था, नागरिक समाज र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए। साथै युवापुस्तालाई लागुऔषधको कुलतबाट जोगाउन निरन्तर जनचेतना अभिवृद्धि, परामर्श तथा रोकथाममुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
आयोजकका अनुसार सप्ताहभरि सञ्चालन गरिएको विभिन्न जनचेतनामूलक गतिविधिमार्फत समुदायमा लागुऔषधविरुद्ध सकारात्मक सन्देश प्रवाह गरिएको र शुक्रबारको समापन कार्यक्रमसँगै अभियान औपचारिक रूपमा सम्पन्न भएको हो।