वीरगञ्ज । मधेस प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य पर्साको ठोरी गाउँपालिकास्थित नेपाल–भारत सीमा नाका (ठोरी नाका) बाट भारतीय नम्बर प्लेटका चार पाङ्ग्रे सवारीसाधनको प्रवेश मङ्गलवारदेखि पुनः सुचारु भएको छ । गत असार १९ गतेदेखि लागू गरिएको प्रवेश रोक हटाइएपछि भारतीय पर्यटक तथा सवारीसाधनको आवागमन फेरि सुरु भएको हो ।
भारतीय सवारीसाधनलाई भन्सार प्रज्ञापन पत्र बिना प्रवेशमा रोक लगाएपछि ठोरी क्षेत्रको पर्यटन तथा होटेल व्यवसाय गम्भीर प्रभावित बनेको थियो । सशस्त्र प्रहरीले ‘माथिको आदेश’ भन्दै ठुटे खोलाको पुल नजिकै भारतीय गाडीहरू रोकेपछि अधिकांश पर्यटक सीमाबाटै फर्किन थालेका थिए । प्रज्ञापन पत्र लिन करिब ६०–७० किलोमिटर टाढा वीरगञ्ज पुग्नुपर्ने बाध्यताले पर्यटक निरुत्साहित बनेका थिए ।
प्रवेश बन्द गरिएपछि स्थानीय व्यवसायी, पर्यटन उद्यमी तथा सर्वसाधारणले विरोध जनाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए । पर्यटन विकास समिति ठोरीले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाउँदै नाका तत्काल सञ्चालनमा ल्याउन माग गरेको थियो । संसद्मा समेत विषय उठाइएको थियो ।
नेपाल–भारतबिचको सामाजिक, सांस्कृतिक, धार्मिक तथा व्यापारिक सम्बन्धको महत्त्वपूर्ण माध्यम रहेको ठोरी नाका अवरोध हुँदा स्वदेशी तथा विदेशी पर्यटक सीमाबाटै फर्किएका थिए । फलस्वरूप होटेल तथा पर्यटन व्यवसायमा गम्भीर आर्थिक क्षति पुगेको र नेपालको अन्तर्राष्ट्रिय छविमा समेत नकारात्मक असर पर्न सक्ने सम्भावना बढेको थियो ।
सम्बन्धित निकायबिच भएको समन्वयपछि भारतीय नम्बर प्लेटका चार पाङ्ग्रे सवारीसाधनलाई पुनः प्रवेश दिने सहमति भएको भन्सार कार्यालयले जनाएको छ । अब भारतीय सवारीसाधनले ठोरी छोटी भन्सारबाट निःशुल्क सुविधा पास लिएपछि ठोरी बजार तथा आसपासका पर्यटकीय क्षेत्रमा सहज रूपमा प्रवेश गर्न सक्नेछन् ।
ठोरी–३ अमृत धारामा रहेको छोटी भन्सार कार्यालय आवश्यक कर्मचारी र स्पष्ट कार्यादेश अभावमा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको भए पनि अब सेवा सुचारु गरिने जनाइएको छ । २०८३ जेठ १० गते राजपत्रमा प्रकाशित संशोधित भन्सार ऐनअनुसार ठोरी छोटी भन्सारलाई यथावत् राख्ने निर्णय भएको थियो ।
ठोरी क्षेत्रमा हाल ८ वटा सुविधा सम्पन्न रिसोर्टसहित ४३ वटा होटेल, रिसोर्ट तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । यस क्षेत्रमा ८० करोड रुपैयाँभन्दा बढी निजी लगानी भइसकेको छ भने सयौँ युवाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । गत वर्ष मात्र १ लाख १० हजारभन्दा बढी भारतीय पर्यटक ठोरी भित्रिएको तथ्याङ्क छ ।
पर्यटन व्यवसायीहरूले नाका बन्द हुँदा व्यापार आधाभन्दा बढी घटेको गुनासो गरेका थिए । उनीहरूले सामाजिक सञ्जालमार्फत पर्यटक आकर्षित गर्ने तर व्यवहारमा सीमामै रोक लगाउने नीति विरोधाभासपूर्ण रहेको बताएका थिए ।
नाका पुनः सञ्चालनमा आएपछि स्थानीय व्यवसायीले राहत महसुस गरेका छन् । उनीहरूले अब स्पष्ट नीति र समन्वयात्मक व्यवस्थासहित ठोरीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न सरकारसँग आग्रह गरेका छन् ।