एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशभर साधरणतया बादल लागेको छ भने दिउँसो पनि अधिकांश स्थानमा बदली रहनेछ । विशेषगरी मधेस प्रदेशमा मेघगर्जन तथा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । मधेसका धेरै स्थानमा वर्षा हुने प्रक्षेपण गरिएको छ भने केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ ।
आज दिउँसो मधेस प्रदेशका साथै कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, मधेस प्रदेशका केही स्थानमा हुरीबतासको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि मधेस प्रदेशमा मौसम थप सक्रिय रहने अनुमान छ । प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाइएको छ । यसका कारण डुबान, बाढी, पहिरो तथा नदी–नालामा पानीको सतह बढ्न सक्ने जोखिम औँल्याइएको छ ।
महाशाखाले मधेस प्रदेशका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन, जोखिमयुक्त क्षेत्रमा सावधानीका साथ आवतजावत गर्न तथा विभागबाट जारी हुने पछिल्ला मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन अनुरोध गरेको छ ।