वीरगञ्ज । जोर्डनमा इरानी मिसाइल तथा ड्रोन आक्रमणमा परी दुई अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिका–इरानबिचको सैन्य तनाव झन् चर्किएको छ । अमेरिकी सेनाले घटनाको प्रतिशोध स्वरूप लगातार आठौँ रात इरानका विभिन्न सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार शुक्रवार जोर्डनस्थित अमेरिकी तथा साझेदार सेनाले इरानी ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणको प्रतिरक्षा गरिरहेका बेला दुई अमेरिकी सैनिक मारिएका हुन् । उक्त घटनामा एक सैनिक अझै बेपत्ता छन् भने चार सैनिक घाइते भएका थिए ।
घाइते सैनिकहरूको उपचारपछि अधिकांशलाई अस्पतालबाट डिस्चार्ज गरिएको सेनाले जनाएको छ । मृतक सैनिकहरूको नाम भने परिवारलाई औपचारिक जानकारी नदिइएसम्म सार्वजनिक नगरिने सेन्टकमले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिकहरूको मृत्युलाई दुःखद घटना भएको बताउँदै इरानलाई कुनै पनि हालतमा आणविक हतियार विकास गर्न नदिइने दोहोर्याएका छन् । ट्रम्पको स्वीकृतिपछि अमेरिकी सेनाले नयाँ चरणको हवाई कारबाही सुरु गरेको जनाएको छ ।
अमेरिकी सेनाका अनुसार पछिल्ला आक्रमणहरू मुख्य रूपमा इरानको सैन्य पूर्वाधार, हतियार भण्डारण स्थल, निगरानी प्रणाली तथा इस्लामिक रिभोलुसनरी गार्ड्ससँग सम्बन्धित लक्ष्यहरूमा केन्द्रित छन् ।
अमेरिकी सेनाले इरानमाथि कारबाहीको प्रमुख उद्देश्य होर्मुज जलडमरूमध्य हुँदै हुने अन्तर्राष्ट्रिय व्यापारिक जहाज तथा तेल ट्याङ्करहरूको आवागमनमा इरानले सिर्जना गरेको जोखिम कम गर्नु रहेको जनाएको छ । विश्वको महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग मानिने होर्मुज जलडमरूमध्यको सुरक्षालाई लिएर अमेरिका तथा खाडी मुलुकहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।
यसैबिच, इरानका सर्वोच्च नेता मुज्तबा खामेनीईले ट्रम्पको अभिव्यक्तिलाई अस्वीकार गर्दै अमेरिकाले नै पछिल्ला सम्झौताहरू उल्लङ्घन गरेको आरोप लगाएका छन् । उनले अमेरिकी आक्रमण जारी रहे इरानले त्यसको कडा जवाफ दिने चेतावनी पनि दिएका छन् ।
क्षेत्रीय तनावका बिच कुवेतले इरानी हवाई आक्रमणबाट सरकारी तेल कम्पनीअन्तर्गतको एक इकाइमा क्षति पुगेको जनाएको छ । यसअघि समुद्री पानीलाई पिउने योग्य बनाउने प्लान्ट तथा अन्य महत्त्वपूर्ण पूर्वाधारमा पनि आक्रमण भएको दाबी गरिएको थियो । त्यसैगरी इराकको अर्बिलस्थित अमेरिकी वाणिज्य दूतावासलाई लक्षित गरी ड्रोन आक्रमणको प्रयास भएपछि त्यहाँको हवाई सुरक्षा प्रणाली तत्काल सक्रिय पारिएको बताइएको छ ।
अमेरिकी सेनाका अनुसार यस वर्ष फेब्रुअरी २८ देखि सुरु भएको युद्धयता हालसम्म १६ अमेरिकी सैनिकको मृत्यु भएको छ भने ४३० भन्दा बढी सैनिक घाइते भएका छन् । जोर्डनमा भएको पछिल्लो घटना भने युद्ध सुरु भएयता प्रत्यक्ष इरानी आक्रमणमा अमेरिकी सैनिक मारिएको पहिलो आधिकारिक पुष्टि भएको घटना हो ।
अन्तर्राष्ट्रिय समुदायले भने दुवै पक्षलाई संयतता अपनाउन आग्रह गर्दै होर्मुज जलडमरूमध्य खुला राख्न र कूटनीतिक पहलमार्फत तनाव कम गर्न आह्वान गरिरहेको छ । तर अमेरिका र इरान दुवै पक्षले सैन्य कारबाहीलाई निरन्तरता दिने सङ्केत दिएका कारण मध्यपूर्वमा द्वन्द्व अझै फैलिने जोखिम बढेको विश्लेषण गरिएको छ ।