वीरगञ्ज ९ कार्तिक । २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर ५ सय ७१ मत पाएका ओम प्रकाश सर्राफ यसपटकको निर्वाचनमा पुनः उम्मेदवार बनेका छन् ।
पर्साको क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यमा दोहोरिएर उम्मेदवार बनेका सर्राफ हाम्रो नेपाली पार्टी (लौरो अभियान) बाट चुनावमा होमिएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दीको क्षेत्रबाट उम्मेदवारी दिएका सर्राफले यसपटक आफुलाई जनताले जिताउने दावी गरेका छन् । सर्राफ यतिबेला घरदैलो अभियानमा व्यस्त छन् ।
आफ्नो क्षेत्रका प्रत्येक घरघरमा गई आफूलाई भोट दिन आग्रह गरि रहेका छन् । सामाजिक क्षेत्रमा सक्रिय रहनु सर्राफको सकारात्मक कदम नै मत पाउने उनको बलियो पक्ष बनेको छ । यसअघिको निर्वाचनमा पराजित भएपनि सर्राफ निरन्तर जनताकै माझमा रहेर समस्याहरुको समाधानका लागि पहल तथा सरोकारवालाको ध्यानाकर्षण गराइरहे ।
यति मात्रै नभएर वैश्विक महामारी कोरोना भाइरसको समयमा उनले गरेका काम अँझै सह्रानीय छन् । मधेश आन्दोलनमा उल्लेख्य भूमिका निर्वाह गरेका सर्राफलाई पार्टीले भने पटकपटक अवमूल्यन गर्दै आएको छ । यद्यपी यसपटक उनले पार्टीभन्दा पनि जनताको साथ पाउने आश गरेका छन् ।
मधेशी समुदायको हक तथा अधिकारका लागि भएको मधेश आन्दोलनका क्रममा प्रहरीद्वारा गिरफ्तारसमेत भएका सर्राफले मुद्दा पनि खेपेका थिए । नारायणी अस्पतालको सुधार तथा विकासको लागि धर्ना, अनसनदेखि विभिन्न अभियान सञ्चलन गरेका सर्राफले लोडसेडिङ्गमुक्तको लागि सत्याग्रह आन्दोलन समेत गरेका थिए ।
सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन दबाबद दिनुका साथै तराई पर्यटनको लागि भिजिट मधेश अभियान समेत चलाएका सर्राफले कोरोना भाइरसको महामारीमा निःशुल्क खाना, निःशुल्क एम्बुलेन्स, अस्पतालमा विरामीहरुको उपचारको लागि सहजीकरण समेत गरेर सामाजिक क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए । फलस्वरुप उनी ‘हिरो अफ द मधेश’ लगायत विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय पदकमार्फत पनि सम्मानित भएका छन् ।
राजनीतिक भन्दा पनि सामाजिक अभियानताको रुपमा परिचित सर्राफ मतदाताले नयाँ अनुहार खोजीरहेको बताउँदै आफ्नो सामाजिक कामको मूल्यांक हुने दावी गर्छन् ।