×

२०८० साउन २७ गते वीरगञ्जमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घ तथा नेपाल युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगञ्जको संयुक्त आयोजनामा भव्य एवम् उपयोगी कार्यक्रम सञ्चालन गरी मनाइएको थियो । ‘परिवर्तन र विकासमा युवा संलग्नता’ (Involvement of Youth in Leading Change and Development) शीर्षकमा उद्घाटनलगायत तीन सत्रमा कार्यक्रम सञ्चालन गरिएको थियो । दोस्रो सत्रको सञ्चालन नेपालकै ख्यातिप्राप्त प्रशिक्षक मानसी अग्रवालले भविष्यका लागि आवश्यक सिप (Skill For Tomorrow) शीर्षकमा सञ्चालन गर्नुभएको थियो भने तेस्रो सत्रमा सांसद बिना जयसवाल, एनवाइईएफकी राष्ट्रिय अध्यक्ष सहारा जोशी, एनवाइईएफ वीरगञ्जका पूर्व अध्यक्ष एवम् वीरगञ्ज उद्योग वाणिज्य सङ्घअन्तर्गत रहेको तालिम केन्द्रका संयोजक अनुप अग्रवाल, वर्तमान अध्यक्ष सन्दीप अग्रवाल तथा म स्वयम् राजनीतिक, आर्थिक एवम् सामाजिक विषयमा छलफलको लागि सहभागी भएका थियौँ । जसको सहजीकरण ओमप्रकाश खनालले गर्नुभएको थियो ।

संयुक्त राष्ट्रसङ्घले १२ अगस्त १९९९ देखि युवा दिवस मनाउने निर्णय गरेको र यसका सदस्य राष्ट्रहरूले सन् २००० बाट यसलाई निरन्तर मनाउँदै आएका छन् । नेपालमा भने यसलाई सन् २००४ देखि मनाउन थालिएको हो । नेपाल सरकारले विक्रम संवत् २०७२ मा राष्ट्रिय युवा परिषद् गठन गरेर स्थानीय तहसम्म यसको विस्तार गर्दै राष्ट्रिय युवा निर्देशिका २०७२ पनि जारी गरिसकेको छ । तर यस क्षेत्रमा खासै प्रगति भएको भने देखिँदैन । राष्ट्रिय युवा परिषद्को अध्यक्षको विचारमा नेपाल सरकारले कुल राष्ट्रिय बजेटको ०.८६ प्रतिशत मात्रै बजेट छुट्ट्याएकोले यस रकमबाट परिषद् सञ्चालनका साथै युवालक्षित कार्यक्रमहरू सञ्चालन हुन सकेका छैनन् । संयुक्त राष्ट्रसङ्घले यस वर्षको लागि युवाहरूलाई हरित सीपहरू दिएर दिगो विकासको पैरवी (Green skills for youth towards sustainable world) शीर्षक तोकेको छ र यसको व्याख्या गर्दै Knowledge, abilities, values and attitude needed to live us, develop and support sustainable and resource efficient society भनेको छ । यसको अर्थ हाम्रो योग्यता, मूल्य, मान्यता र धारणा बाँच्न र विकास गर्नको लागि प्रचुर संसाधन जोगाइराख्ने समाज निर्माण गर्न लक्षित हुनुपर्छ । यसलाई सरल शब्दमा Go Green पनि भन्न सकिन्छ ।

मेरो विचारमा युवा भन्ने शब्दलाई विच्छेद गर्दा ‘यु’बाट युग र ‘वा’बाट वाहक अर्थात् युवाहरू युगका वाहक हुन् भन्ने रहेकोमा कार्यक्रमकै क्रममा वक्ताबाट ‘युवा’ शब्दलाई उल्टो गर्दा यो ‘वायु’ हुन जाने र यसलाई दिशा दिन नसके यसले आँधीबेहरी निम्त्याउने तर राम्रो दिशामा प्रयोग गरेमा सकारात्मक नतिजा आउने भनाइ पनि घतलाग्दो रह्यो ।

दोस्रो सत्रको शुभारम्भ गर्दै प्रशिक्षक मानसी अग्रवालले आज एक दिन युवा दिवस मनाएर केही नहुने भन्नुहुँदै आजदेखि १८ वर्षमा प्रवेश गर्ने र गरिसकेका सबैले ४० वर्षको उमेर नपुगेसम्म प्रत्येक दिनलाई युवा दिवसको रूपमा सम्झनामा राखी काम गर्न सके मात्र युवा शब्द चरितार्थ हुने भनाइ राख्नुभएको थियो । यसै क्रममा Skill For Tomorrow को चर्चा गर्दै सबैभन्दा पहिलो Skill सञ्चार (Communication) बारे चर्चा गर्दै उहाँले योजना सधैँ सफल नहुने भएको र विगत २० वर्षदेखि परिवर्तनको गति अत्यन्त तीव्र हुँदै गएकाले आफूलाई बदलिँदो परिवेश अनुसार सुसूचित राख्नुपर्ने भन्दै यसलाई थप प्रस्ट पार्न एउटा कथासमेत सुनाउनुभएको थियो । कथा अनुसार उहाँ एक पटक आफ्ना दुई जना मित्रसँग दिल्लीबाट कोलकाता जान विमानमा चढ्दा तीन जनामध्ये एक जना साथी उहाँहरूसँग नबसी त्यही विमानमा सवार अर्की एक महिलासँग बस्न गएकोमा उहाँहरूले यात्रा अवधिभरि त्यस साथीको कुरा काट्दै आउनुभएको तर यस घटनाको छ महिनापछि नै ती साथी भने भारतको एउटा ख्यातिप्राप्त कम्पनीमा परामर्शदाता नियुक्त भएको प्रसङ्ग सुनाउँदै साथीले अपरिचित महिलासँग संवाद स्थापित गरी परिचय प्राप्त गरेपछि कार्यरत क्षेत्रमा आफूले गरेका अनुकरणीय कामबारे सामाजिक सञ्जालमा जानकारी राख्ने गर्दै आएकाले विमानमा परिचय भएकी महिलाले उनको कार्य विवरण हेर्ने गरेकी र आफूलाई चाहिने भनी आवश्यकता भएको बेलामा साथीलाई आफ्नो कम्पनीको परामर्शदाता बनाएकी भन्दै राम्रो अवसर पाउन सञ्चारका साथै आफ्नो ब्रान्डिङ गर्न पनि आवश्यक रहेको जानकारी दिनुभएको थियो ।

दोस्रो Skill बारे चर्चा गर्दै उहाँले GIC गिकको प्रसङ्ग ल्याउनुभएको थियो । सन् २०१० मा भएको अनुसन्धानबाट २०५० सम्म पूर्ण रूपले प्रयोगमा आउने भनिएको यो प्रणाली कोभिडका कारण छिट्टै प्रचलनमा आएको हो भन्दै यसलाई Outsourcing जस्तै हुने बताउँदै यस प्रणालीको प्रयोगबाट घरबाटै आफ्नो जिम्माको काम गर्न सकिने भएपछि परम्परागत प्रणालीबाट हुने गरेका कार्यालयका कामहरू घरबाटै गर्न सकिने अवस्था आउने र त्यसका लागि पनि ब्रान्डिङको आवश्यकता हुने भन्दै पुनः यसलाई एउटा रोचक कथाको माध्यमबाट प्रस्तुत गर्नुभएको थियो । एक दिन एक बालक सुन्दर देखिने दुई वटा ढुङ्गा लिएर घर फर्किन्छन् र आफ्ना पितालाई यसबारे चासो राख्छन् । पिताले यो सामान्य ढुङ्गा भएको बताउँदै छोरालाई पाठ सिकाउन सर्वप्रथम यसलाई सिनेमा हलमा लगेर बिक्री गर्ने प्रयास गर्न सुझाव दिँदै कसैले मूल्य सोधेमा ‘V’ आकारमा दुई वटा औँला ठड्याउने तर मुखले केही नबोल्ने अनि ढुङ्गा पनि बिक्री नगरी घर फर्किने सल्लाह दिन्छन् । ती बालक नजिकैको सिनेमा हलमा जान्छन् र ढुङ्गा प्रदर्शन गर्न थाल्छन् । एकै छिनमा एक जना ग्राहक आउँछन् र त्यसको मूल्य सोध्छन् । बालकले आफ्नो पिताले बताए अनुसार दुई वटा औँला ठड्याउँछन् र ग्राहकले दुई सय रुपैयाँ भन्ने बित्तिकै केही नबोली फर्कन्छन् र सबै घटना आफ्नो पितालाई बताउँछन् । उनको पिताले भोलिपल्ट सहरको पेटीमा घुमेर प्रदर्शन गर्न पठाउँछन्, जहाँ त्यसको मूल्य दुई हजार अनि फेरि अर्को ठाउँमा २० हजारसम्म मूल्य तोकिन्छ तर बालक बिक्री नगरी घर फर्कन्छन् ।

अन्तमा उनको पिताले बालकलाई गरगहना पसलबाहिर बसेर प्रदर्शन गर्न सल्लाह दिन्छन् र बालकले पनि त्यसरी नै गर्छन्, जहाँ केही बेरपछि एक जना महिला कारबाट ओर्लिन्छिन् र ‘आहा १ कति राम्रो’ भन्दै मोल सोध्छिन् र बालकले दुई औँला ठड्याएर सङ्केत गर्दा ‘अच्छा २० लाख’ भन्दै चेक काटेर बालकलाई दिन्छिन् । यस कथाबाट के प्रस्ट हुन्छ भने तपाईँले आफ्नो ब्रान्ड बनाउन सञ्जालमा सूचना प्रवाह गरेर मात्र नपुग्ने भएकोले त्यसका साथै आफ्नो दक्षता प्रयोग वा बिक्री हुने बजारसम्म पुग्न सक्नुपर्छ, अनि मात्रै व्यक्तिको ब्रान्डिङको प्रक्रिया सुरु हुन्छ र यो निरन्तर चलिरहन्छ ।

तेस्रो Skill को चर्चा गर्दै यसलाई Learning to Learn भनेर उल्लेख गर्नुभयो । यो तीन चरणमा पूरा हुने र यसको सूत्र केपीएफ ‘KPF’ हो भनी बताउनुभयो । जहाँ K = Knowledge, P = Practice र F = Feedback हुन्छ । यसको अर्थ १) ज्ञान आर्जन गर्ने र ज्ञानलाई सीपमा बदल्न निरन्तर अभ्यास गर्ने र अभ्यास सफल भए नभएकोबारे Feedback लिइराख्नुपर्ने उहाँको भनाइ थियो । उहाँको यो भनाइ Knowledge management का तीन चरण 1) Acquire 2) Share र use inform of team सँग धेरै मिल्दोजुल्दो छ । तेस्रो सीपको सन्दर्भमा पनि उहाँले आफ्नै गणित विषयमा अङ्क कम आउने गरेको सन्दर्भमा पछि प्रयासबाट सफल भएको प्रसङ्ग सुनाउँदै अर्को एक कथा सुनाउनुभयो । जसमा दुई/चार वटा भ्यागुतो अँध्यारोमा एक पटक एउटा पानी नभएको खाल्डोमा खस्न पुग्छन् । उज्यालो भएपछि धेरै पटक प्रयास गर्दा पनि निस्कन सकिरहेका हुँदैनन् । यसै क्रममा वरिपरि जम्मा भएका अन्य जनावरहरूको ‘अब भ्यागुतोहरू यस खाल्डोबाट निस्कन नसक्ने’ भनाइ सुनेपछि एकबाहेक अन्य भ्यागुतोले बाहिर निस्कने प्रयास छाडिदिन्छन् तर एउटाले भने प्रयास जारी राख्छ र अन्ततः उफ्रिएर बाहिर निस्कन सफल हुन्छ । अन्य निस्कन नसक्नु र यो मात्रै कसरी निस्कियो भनेर जाँच गर्दा त्यो भ्यागुतो बहिरो भएको थाहा हुन्छ । यस कथाबाट उहाँले अभ्यास निरन्तर जारी राख्नुपर्ने र अभ्यासका बेला आउने नकारात्मक विचारहरूलाई ग्रहण नगरी बरु आफ्नो प्रयासमा के कमी भयो भनेर विचार गरेर अगाडि बढ्दा सफलता अवश्य पाइन्छ भन्दै तालीम समाप्त गर्नुभएको थियो । उहाँको यो भनाइ हार्वर्ड विश्वविद्यालयको सफल कसरी हुने “हाउ टू सक्सिद” भनेर गरिएको अनुसन्धानको निष्कर्षसँग मिल्छ, जसमा असफल भएपछि निराश हुनुभन्दा असफल हुनुका कारण वा आफ्नो कमीकमजोरी पत्ता लगाएर, त्यसलाई बलियो बनाएर अगाडि बढेमा सफलता निश्चित पाइने भनिएको छ ।

तालीमको समापनपछि पल्लवी हरलालकाले आइसब्रेकिङ सेसन गराउनुभएको थियो भने अन्तिम सत्र प्यानल छलफलको रहेको थियो । जसमा विद्यार्थीहरूको प्रश्न र छलफलसमेत Ease of doing Business in Nepal वातावरणमाथि केन्द्रित रहेको थियो । यस सेसनको प्यानलिस्टहरूमा सांसद बिना जयसवाल, एनवाइईएफ का केन्द्रीय अध्यक्ष सहारा जोशी, सामाजिक कार्यकर्ता नूतन सरावगी, एनवाइईएफ का वर्तमान अध्यक्ष सन्दीप अग्रवाल, पूर्व अध्यक्ष अनुप अग्रवाल र वीरगञ्ज कलेजका प्रमुख विनोद गुप्ता रहनुभएको थियो । यति महत्त्वपूर्ण छलफल भइरहँदा सम्बन्धित क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने स्थानीय तथा प्रदेशका उद्घाटन सत्रमा सहभागी पदाधिकारीहरू भने सहभागी हुनुभएको थिएन ।

(लेखक वीरगञ्ज कलेजका संस्थापक एवम् विश्लेषक हुनहुन्छ । उहाँको अनुमति पश्चात् प्रतिक दैनिक पत्रिकाबाट लेख साभार गरिएको छ ।)

Back to top