डा. नवीन पौडेल।
निमोनिया विभिन्न प्रकारका जीवाणुहरूको संक्रमणबाट फोक्सोमा हुने गम्भीर समस्या हो। यो संक्रमणले ज्वरो, खोकी, र श्वासप्रश्वासमा समस्या ल्याउँछ। यस रोगको कारणले फोक्सोका कोषहरू सुन्निने र सास फेर्न कठिनाइ हुने हुन्छ। यो रोग ब्याक्टेरिया, भाइरस, र फन्जाईको कारण लाग्न सक्छ।
यो रोग जोकोहीलाई पनि लाग्न सक्छ, तर विशेषगरी २ वर्ष मुनिका बालबालिका, ६५ वर्ष वा सो भन्दा माथिका वयस्कहरू, जटिल स्वास्थ्य अवस्थाका व्यक्ति, र धुम्रपान गर्ने मानिसहरू यसको उच्च जोखिममा पर्छन्।
बिरामीको उमेर, प्रतिरोध क्षमता, र संक्रमण गर्ने जीवाणु अनुसार न्युमोनियाका लक्षणहरू फरक हुन सक्छन्। व्याक्टेरियाले गर्दा हुने न्युमोनियामा अचानक ज्वरो बढ्ने, छाती दुख्ने, सुख्खा खोकी लाग्ने, खकार आउने, र सास फेर्न गाह्रो हुनेजस्ता लक्षणहरू देखिन्छन्।
निमोनियाको उपचार बिरामीको अवस्थाअनुसार फरक हुन्छ। केहीलाई अस्पतालमा भर्ना गर्नुपर्ने हुन्छ भने केहीलाई घरमै हेरविचार गर्न सकिन्छ। सास फेर्न कठिनाई भइरहेको छैन भने, मास्कको प्रयोग, पर्याप्त पानी पिउने, र सरसफाइमा ध्यान दिने गर्नुपर्छ।
अवस्थाको गम्भीरता अनुसार समयमै उपचार नगरे बिरामीको स्वास्थ्य अत्यन्त बिग्रन सक्छ, त्यसैले माथि उल्लिखित लक्षणहरू देखापरेपछि तुरुन्तै अस्पताल जाने उचित हुन्छ।