सांकेतिक तस्वीर
वीरगञ्ज। नेकपा माओवादी केन्द्रका नेता तथा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य रामबाबु बैठा फेरि विवादमा तानिएका छन्। यसपटक बैठा नक्कली शिक्षक नियुक्ति काण्डमा मुछिएका हुन्, जसमा दुई व्यक्तिसँग रकम असुली गरी नक्कली नियुक्ति पत्र दिएको आरोप लागेको छ।
जानकारी अनुसार, बैठाले तत्कालीन शिक्षा मन्त्री गिरिराज मणि पोखरेलको कार्यकालमा आफ्नो पहुँच रहेको दाबी गर्दै नेपाल राष्ट्रिय विद्याविठ मावि श्रीपुरका शिक्षक रामप्रसाद पाण्डे मार्फत दुई व्यक्तिसँग रकम असुलेर नक्कली नियुक्ति पत्र दिएको खुलासा भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चन्द्रिका महतो र संगिता रौनियारले उजुरी दिएपछि यो प्रकरण बाहिर आएको हो। छानबिनको क्रममा उनीहरूको नियुक्ति पत्र नक्कली रहेको पुष्टि भएको छ। पक्राउ परेका चन्द्रिका महतोले शिक्षक पाण्डे मार्फत नियुक्ति पत्र पाएको बयान दिएका थिए, जसको आधारमा शिक्षक पाण्डे पक्राउ परेका छन्। यसै अनुसन्धानबाट बैठाको संलग्नता पनि पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलका अनुसार, रामबाबु बैठा अहिले फरार रहेका छन् र प्रहरीले उनको खोजी गरिरहेको छ।