×

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका–१ मा नेपाली काँग्रेस सर्लाहीले सोमवार वृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गर्‍यो । 

सोही दिन नेकपा माओवादीका शिवपुजन यादवले वडा नम्बर ३ मा गढीमाई मन्दिर उद्घाटन कार्यक्रम राखेका थिए। दुई कार्यक्रम एकै समयमा र नजिकै हुनुका कारण सुरक्षा चुनौती थपिएको थियो ।

काँग्रेसको कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व मन्त्री तथा नेता विमलेन्द्र निधि सहभागी थिए। कार्यक्रममा स्वतन्त्र सांसद अमरेश सिंहका समर्थक राहुल वर्मा र विष्णु यादवसहित १५०० जना, लोसपा परित्याग गरेका ८०० जना, र माओवादी परित्याग गरेर सयौँ व्यक्ति काँग्रेसमा प्रवेश गरेको काँग्रेस जिल्ला सभापति सुरेन्द्र सिंहले जानकारी दिए । कार्यक्रममा मधेस प्रदेश उपसभापति तथा पूर्व मन्त्री वीरेन्द्र सिंहसहित दर्जनौँ नेताहरूको उपस्थिति थियो ।

त्यसै गरी, शिवपुजन यादवको पहलमा गढीमाई मन्दिर उद्घाटनमा स्थानीयहरूको उल्लेखनीय उपस्थिति रह्यो ।

दुवै कार्यक्रमको दुरी करिब पाँच सय मिटर मात्रै रहेकाले सर्लाही प्रशासनले सम्भावित अप्रिय घटनालाई रोक्न कडा सुरक्षा व्यवस्था गरेको थियो। रामनगर र आसपासको क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरिएको थियो ।

नेकपा माओवादीका नेता शिवपुजन रायले काँग्रेसको कार्यक्रम धार्मिक संवेदनालाई प्रभावित गर्ने प्रयास भएको आरोप लगाउँदै, स्थानीयवासीमा असन्तोष बढेको दाबी गरे ।

Back to top