×

चार दिनसम्म चलेको भारत र पाकिस्तानबीचको तनावपूर्ण युद्ध अन्त्य भएको छ। दुवै देशले युद्धविरामको घोषणा गर्दै तटस्थ भूमिमा वार्ता गर्ने सहमति गरेका छन्। युद्धविरामपछि केही महत्वपूर्ण यथार्थहरू सार्वजनिक भएका छन्, जसले दक्षिण एसियाको राजनीतिक, कूटनीतिक र सामरिक चित्रण स्पष्ट बनाएको छ।

१. पाकिस्तानमा आतंककारीहरूको आश्रय खुल्यो
भारतले गरेको हवाई हमलामा पाकिस्तानमा आश्रय लिइरहेका आतंककारी संगठनका नेताहरू मारिएको पुष्टि भएको छ। संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएका चरमपन्थीहरू पाकिस्तान सेनाको साथमा देखिनुले पाकिस्तानी भूमिमा आतंकवादीको संरचना अझै सक्रियरूपमा रहेको तथ्य उजागर भएको छ।

२. धार्मिक स्थल र सम्पदामा क्षति
पाकिस्तानको हमलामा भारतको जम्मुस्थित प्रसिद्ध शम्भु मन्दिरमा क्षति पुगेको छ। युद्धका क्रममा पाकिस्तानले मन्दिर र पुरातात्विक सम्पदालाई पनि लक्षित गरेको भारतको आरोप छ।

३. पाकिस्तानको अन्तर्राष्ट्रिय समर्थन कमजोर
युद्धकालमा पाकिस्तानलाई खुला समर्थन टर्की र अजरबैजानबाट मात्र प्राप्त भयो। साउदी अरब, तालिवान शासित अफगानिस्तान लगायत मुस्लिम देशहरूको मौनता रह्यो। भारतले इजरायलको खुलेको समर्थन पायो भने नेपालले आतंकवादविरुद्धको भारतको संघर्षमा समर्थन जनाएको छ। अमेरिका र रुसले आतंकवादको विरोध गरे पनि भारतलाई संयमित रहन सुझाव दिएका थिए।

४. प्रयोग भएका हतियार र सामरिक प्रविधिको परीक्षण
भारतले युद्धमा घरेलु रूपमा निर्मित हतियारहरू साथै फ्रान्सको राफेल युद्धक विमान प्रयोग गर्‍यो। यिनैमध्ये एक राफेल जेटलाई चीनमा निर्मित जे-१०सी फाइटर जेटले खसालेको भनिएको छ, जसले चीनको उन्नत सैन्य प्रविधिको संकेत दिएको छ। पाकिस्तानले टर्कीमा निर्मित अन्का थ्री र किजिलेल्मा ड्रोन प्रयोग गरेको पुष्टि भएको छ। पाकिस्तानको कुल हतियार आयातको ८१ प्रतिशत चीनबाट हुने तथ्य पनि खुल्यो।

५. अन्तर्राष्ट्रिय र आन्तरिक राजनीतिक कित्ताकाट प्रकट
भारत–पाकिस्तान तनावको बेला विश्वका विभिन्न देशहरूको राजनीतिक तथा कूटनीतिक कित्ताकाट स्पष्ट देखिएको छ। नेपाल लगायत दक्षिण एशियाली देशका राजनीतिक दल, नेताहरू र सामाजिक अभियन्ताहरूको धारणा पनि उजागर भयो।

६. अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णायक भूमिका
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिक पहलमा युद्ध रोकिएको हो। उनले भारत र पाकिस्तान दुबैका अधिकारीहरूसँग रातभर संवाद गर्दै युद्धविरामका लागि सहमति जुटाएका थिए। ट्रम्पको पहलले पाकिस्तानमाथि दबाब सिर्जना गरेकाले उनले कुशल मध्यस्थकर्ताको रूपमा भूमिका निर्वाह गरेको देखिएको छ।

Back to top