×

वीरगञ्ज । देशका दुई प्रमुख भन्सार नाकामा भएको सामान चोरीको घटनाले नेपालको भन्सार प्रणालीमा विद्यमान कमजोरी, लापरवाही र सम्भावित भ्रष्टाचारलाई उजागर गरेको छ।

सिरसिया सुख्खा बन्दरगाह, वीरगञ्जबाट करिब १८ लाख रुपैयाँ बराबरको विदेशी रक्सी र तातोपानी भन्सार कार्यालयबाट करिब २ करोड मूल्य बराबरको विद्युतिय चुरोट (भेप) चोरी भएको खुलासा भएको छ।

भन्सार विभाग स्रोतका अनुसार दुवै घटनामा गोदाममै कार्यरत कर्मचारीहरूकै संलग्नता रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जनाएको छ। विशेष गरी तातोपानी भन्सारको घटनामा चोरहरूले सिसिटिभी फुटाएर गोदाममा पसेका थिए। यद्यपि अर्को क्यामेरामा उनीहरूको गतिविधि खिचिएको थियो र सोही आधारमा पक्राउ गरिएको हो।

चोरी भएको भेपबारे अहिले सामान्य भेप हो वा सुन लुकाइएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। विगतमा पनि त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट सुन लुकाएर ल्याइएको भेप चोरी भएको थियो, जसले अहिलेको घटनालाई अझ शंकास्पद बनाएको छ।

सर्लाही निवासी व्यवसायी वासुदेव साहले पिके ट्रेडर्समार्फत अष्ट्रेलियन ब्रान्डको रक्सी आयात गर्न टेन्डर जितेका थिए। १०,४०५ लिटर रक्सी भन्सारमा हुनु पर्नेमा ९,४१८ लिटर मात्र फेला परेको उनले बताए। करिब ९८७ लिटर रक्सी गायब रहेको र त्यसको अनुमानित बजार मूल्य १८ लाख रुपैयाँ बराबर भएको छ।

साहका अनुसार, सम्पूर्ण भुक्तानी गरेपछि माल लिन पुगेका उनीसँग भन्सार कर्मचारीहरूले "जति छ, त्यति नै बुझ्नु" भन्ने गैरजिम्मेवार जवाफ दिए। जब उनले जवाफ मागे, केही कर्मचारी स्थलबाट फरार भएको पनि उनले दाबी गरेका छन्।

घटनापछि तातोपानी भन्सार कार्यालयका प्रमुख उपसचिव कमल प्रसाद भट्टराईलाई विभाग तानेर स्थानान्तरण गरिएको छ। उनको स्थानमा राजेन्द्र प्रसाद चुडाललाई ल्याइएको छ भने मेची भन्सार कार्यालयमा उपसचिव हरिहर पौडेल सरुवा भएका छन्।

तर हालसम्म भन्सार विभाग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्य सरोकारवाला निकायबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन। यसले चोरीमा प्रशासनिक मिलेमतोको आशंका अझ बलियो बनाएको छ।

व्यवसायी वासुदेव साहलगायत स्थानीय व्यापारी र नागरिक समाजले यस्तो प्रकारको चोरीले सरकारको राजस्वमा गम्भीर क्षति पुर्‍याएको भन्दै तत्काल उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

विश्लेषकहरू भन्छन्, “यो घटनाले नेपालको भन्सार प्रणालीमा मौलाउँदै गएको ढिलासुस्ती, लापरवाही र सम्भावित भ्रष्टाचारलाई उजागर गर्छ। यदि यस्ता घटनालाई तत्काल नियन्त्रण नगरिएमा देशको आर्थिक संरचना र पारदर्शिता गम्भीर संकटमा पर्नेछ।”

सिरसिया र तातोपानीबाट भएको चोरी सामान्य घटना होइन। यसले प्रशासनिक कमजोरी, सुरक्षाको अभाव र प्रणालीगत भ्रष्टाचारको गम्भीर सङ्केत दिएको छ। अब सम्बन्धित निकायहरूको चासो, तत्परता र कारबाही मात्र यस्ता घटनाको अन्त्यको थालनी हुन सक्छ।

Back to top